काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आठ जना डाक्टरलाई पक्राउ गरेको छ ।
सीआईबीको अप्रेशन ‘फोक्सट्रोट चार्ली’ अन्तर्गत शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा आठ जना डाक्टरलाई पक्राउ गरेको हो ।
शैक्षिक प्रमाणपत्र नक्कली प्रकरणमा प्रहरीले बिहीबार ५ जना र शुक्रबार ३ जनालाई नियन्त्रणमा लिएको छ। थप १५ जना डाक्टरको सर्टिफिकेटमाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।
अनुसन्धान उपत्यका र बाहिरी जिल्लामा पनि केन्द्रित रहेको सीआइबी श्रोतले बतायो। बिहीबार पक्राउ पर्नेमा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्मा, महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, डा.रामबाबु यादव र डा।एरिना शाह रहेका छन्।
नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरुद्ध सञ्चालन गरिएको अपरेसनको नाम ‘फोक्सट्रोट चार्ली’ राखिएको छ। सिआईबीको डिएसपी डा। तपन दाहालको नेतृत्वमा यो अपरेसन चलिरहेको छ।
शुक्रबार थप तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको गोठाटारबाट सुमेरु सिटी अस्पतालमा कार्यरत डा.पुनम थापा चौधरी छन्। यस्तै डा.श्रद्धा शिल्पकार र डा।मनित चौधरी रहेका छन्। मनित मोरङमा क्लिनिक सञ्चालन गरिरहेका थिए।