काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसद सुनिल शर्मा पक्राउ प्रकरणको विषयले प्रवेश पाएको छ ।
बैठकमा कांग्रेसका सांसद उदयशम्शेर राणाले माधव नेपाललाई विदेश पठाएर कांग्रेस नेताहरुलाई छानिछानी धरपकड गर्नुराम्रो नभएको बताएका छन् ।
बैठक बोल्दै सांसद राणाले सरकारले कांग्रेसका नेताहरूलाई मात्र लक्षित गरेर धरपकड गरिरहेको भन्दै यसबारेमा नेतृत्वको धारणा माग गरे ।
सांसद राणाले भने,’माधव नेपाललाई विदेश पठाउने, हाम्रा नेतालाई छानिछानी धरपकड गर्ने रु सुन तस्करी प्रकरणमा माओवादीका नेताहरूको नाम प्रहरीले किटानी गरेको छ। उनीहरूलाई उन्मुक्ति दिने काम भएको छ ।’
अदालतले अनुसन्धान गर्न आदेश दिएका कम्युनिष्ट नेता तथा पूर्वप्रधानमन्त्रीहरुलाई विदेश भ्रमणमा जान दिएर कांग्रेस नेताहरूलाई मात्र टार्गेट गरिएको सांसद राणाको दाबी छ। उनले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री र मन्त्रीहरूकै संलग्नता रहेको आशंका पैदा भइरहेकोमा घटनाक्रमले त्यसलाई थप पुष्टि गरिरहेको समेत बताए ।
दलको बैठकमा लगातार कांग्रेस नेताहरूलाई लक्षित गरेर धरपकड गरिएकोमा सांसदहरूले आपत्ति जनाएका छन् । सांसद राणाले कांग्रेस नेतालाई पक्राउ गर्न पक्राउ पुर्जी समेत नलिने गरेको बताए । यो सरकारको कस्तो नियत हो भन्दै उनले प्रश्न समेत गरे ।
Leave a Reply