Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दागबत्ती दिन ठिक्क पारिएको शव पोस्टमार्टम गर्न लगियो, यस्तो छ कारण

झापा । कनकाई माईमा दाहसंस्कार गर्न लागिएको अवस्थामा एक महिलाको शव प्रहरीले आज अपराह्न चिताबाटै उठाएको छ।

इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको टोलीले चितामा राखेर दागबत्ती दिन ठिक्क पारेको अवस्थामा महिलाको शव चिताबाटै उठाएको हो ।

कनकाई नगरपालिका–३ निवासी ३२ वर्षीया पूजा कोचकारको सोमबार दिउँसो मृत्यु भएपछि परिवारले अन्त्येष्टिका लागि उनको शव कनकाई माईमा पु¥याएको थियो। तर, प्रहरीले घाटबाटै शव उठाएर पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएको हो।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले स्थानीयवासीको मौखिक उजुरीका आधारमा शव नियन्त्रणमा लिँदै पोष्टमार्टमका लागि अस्पताल पठाइएको जानकारी दिए।

कनकाई–३ निवासी ५० वर्षीय चोपेन्द्र कोचकारका दुई जना श्रीमती रहेको र मृतक पूजा उनकी कान्छी श्रीमती भएको बताइएको छ। प्रायजसो घरमा झैझगडा भइरहने र जेठी श्रीमती तथा उनका श्रीमान्को कुटाइबाट उनको मृत्यु भएको हुनसक्ने भन्दै स्थानीयवासीले प्रहरीलाई खबर गरेको बताइएको छ।

‘स्थानीयवासीको मौखिक उजुरीका आधारमा पूजाको शव परीक्षणका लागि लगिएको हो, प्रहरी नायब उपरीक्षक कार्कीले भने। पूजाको बिर्तामोडस्थित कञ्चनजंघा अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ।

उनका श्रीमान् चोपेन्द्र ठेक्कापट्टाको काम गर्दै आएका छन्। चोपेन्द्रको परिवारमा यसअघि दुई श्रीमती र श्रीमान्बीच मादक पदार्थ खाएको विषयमा झैझगडा हुँदै आएको स्थानीयवासीले बताएका छन्।

मृतक पूजाका १० वर्षीय एक छोरा छन्। घटनाका विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077