Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुराम नेतृत्वको नेसपाले संगठन विस्तार अभियान चलाउने

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने भएको छ।

नेसपाले असारदेखि पुससम्म संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्न लागिएको हो। नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहहरूसँग संवाद, सहकार्य बढाउँदै ध्रुवीकरणको पहल गर्ने र मुद्दा मिल्ने पार्टीहरुसँग मोर्चा बनाउने बताईएको छ ।

नेसपाले संगठन निर्माण तथा विस्तार अभियान २०८० अन्तर्गत अग्रगामी शक्तिहरूको वृहत ध्रुवीकरणमार्फत देशमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्न प्रयत्नशील रहने समेत जनाएको छ ।

केही समयअघि बसेको नेसपा केन्द्रीय समिति बैठकको निर्णयअनुसार यही असारबाट सुरु भइ पुस महिनासम्म चल्ने अभियानको विस्तारित खाका नेसपाले सार्वजनिक गरेको हो ।

पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘दीर्घकालीन वैचारिक स्पष्टतासहित तत्कालीन जनसरोकारका मुद्दामा दृढ भएर आम जनताबीच संगठन निर्माण गर्दै सडक, सदन र सरकार तीनवटै ठाउँबाट जनतालाई गोलबन्द गरेर अघि बढ्ने उद्देश्यले ‘संगठन निर्माण तथा बिस्तार अभियान’ सञ्चालन गरिएको छ ।’

अभियानका लागि अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा केन्द्रीय अभियान परिचालन मूल समिति र सचिवालय निर्माण गरेको छ । अभियानमार्फत पार्टीलाई वैचारिक रूपमा नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी विकल्पको रुपमा स्थापित गर्ने नेसपाले जनाएको छ ।

साथै, सबै स्थानीय तहसम्म संगठनात्मक सञ्जाल बिस्तार गर्ने नेसपाको विज्ञप्तिमा उल्लेख छ । अभियानअन्गर्तगत वैचारिक तथा राजनीतिक, संगठन निर्माण तथा विस्तार, संयुक्त मोर्चा र ध्रुवीकरण, जनसंघर्ष र जनपरिचालनको लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077