झापा । झापामा सशस्त्र प्रहरीका हवल्दारसहित चार जनामाथि कुटपिट गरेको घटनामा प्रहरी निरीक्षक नमप्रभाव राईसहित तीन जना निलम्बनमा परेका छन् ।
इन्स्पेक्टर राईसहित कुटपिट घटनामा संलग्न सशस्त्रका जवानहरू रामसुन्दर तामाङ र जीवन बास्तोलालाई निलम्बन गरिएको हो ।
सशस्त्र प्रहरी निरीक्षक राईलाई गृह मन्त्रालय तथा जवानहरू तामाङ र बाँस्तोलालाई सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीले निलम्बन गरेको बताइएको छ ।
यता घटनाको छानबिनका लागि मुख्यालयले बिहीबार नै सशस्त्रका एआइजी चन्द्रप्रकाश गौतमको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरिसकेको छ ।
जेठ २३ गते मंगलबार राति करिब साढे १० बजेको समयमा मेचीनगर नगरपालिका-५ स्थित नकलबन्दामा सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह वाहिनी सुनसरीले सादा पोशाकमा खटाएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू तामाङ र बास्तोलाले भारततर्फ गाई गोरु कटाएको निहुँमा ड्युटीमा खटिएका सशस्त्र हवल्दार गणेशबहादुर तामाङसहितका व्यक्तिहरुलाई मेची नदीको पानीमा चोबल्दै, खेदाउँदै भाटैभाटाले कुटपिट गरेका थिए ।
यसरी कुटाइ खानेमा सशस्त्र हवल्दार तामाङसहित, रामबहादुर कार्की, सहायक हवल्दार सन्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी रहेका छन् ।
Leave a Reply