काठमाडौं । गत शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट पक्राउ परेका नायब सुब्बा रेवन्त खड्का यसअघि पनि भन्सारका विभिन्न घटनामा मुछिएका सरकारी कर्मचारी भएको खुलेको छ ।
सिआईबीको टोलीले गत शनिबार नासु खड्कालाई भन्सार कार्यालयको कार्यकक्षबाटै पक्राउ गरेको थियो । पक्राउ परेका खड्कामाथि प्रक्रियामा गइसकेका कतिपय मुद्दामा व्यक्तिगत लाभ हुनेगरी चासो राखेको र विदेशबाट आफन्तले ल्याएका अवैध सामानसमेत अनुसन्धानमा नलगिकनै फिर्ता पठाउने गरेको आरोप छ ।
बिमानस्थल भन्सार कार्यालयको मुद्दा शाखामा कार्यरत नासु खड्का यसअघि भन्सार कार्यालयले जफत गरि लिलामीका लागि राखिएका सामानहरु विक्रीका लागि भन्दै आफूखुसी ओसारपसार गर्दै आएको घटनामा मुछिएका थिए । कार्यालयको सिसि क्यामरा नै अफ गरी ओसारपसार गर्ने गरेको आरोप लागेको खड्कालाई त्यतिबेला भन्सार बिभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जोगाएका थिए ।
त्रिभुवन बिमानस्थल भन्सार कार्यालयको सिसि क्यामरामा जडान गरिएको मेन स्वीच नै अफ गरी सामान ओसारेको घटना सार्वजनिक हुँदा समेत खड्कामाथि विमानस्थल प्रशासनले कुनै पनि कारबाही गर्न सकेको थिएन । भन्सारको मुद्दा शाखामा सरुवा हुनु अघि उनी विमानस्थलको यात्रु आगमन भन्सारमा कार्यरत थिए ।
सिसि क्यामरा सञ्चालनका लागि मेन स्वीचबाट २४ घण्टै विद्युत आपूर्ति भइरहन्छ । सिसि क्यामरामा दिइएको विद्युत सप्लाइमा अवरोध आउन नदिनका लागि मेन स्वीचमा ताल्चा लगाइएको छ । उक्त ताल्चाको साँचो स्वयं खड्कासँग मात्रै रहेको यस अघि नै खुलिसकेको छ ।
यस विषयमा अनलाइन नेपालले २०७९ मंसिर १३ गते मंगलबार समाचार प्रकाशित गर्दा भन्सार कार्यालयले आफ्नो कार्यालयभित्र छानविन गर्नुको साटो ‘छानविनका लागि’ भन्दै सञ्चारमाध्यमलाई पत्र काटेको थियो । समाचार लेखेकै भरमा सञ्चारमाध्यमलाई पत्र काटेर त्यतिबेला नासु खड्कालाई जोगाएको भन्सार प्रशासनले अहिले भने सिआईबीलाई छक्याउन नसक्दा खड्का तीनदिनदेखि सिआईबीकाे हिरासतमा छन् ।
पक्राउ परेका खड्काका विषयमा सिआईबीका प्रवक्ता एवं सूचना अधिकारी एसपी संजय सिंह थापाले अनुसन्धान भइरहेकाले यसबारे थप जानकारी दिन नमिल्ने बताए । उनले अनलाइन नेपालसँग कुरा गर्दै भने–‘उहाँमाथि अनुसन्धान भइरहेको छ । थप विवरण अनुसन्धान पश्चात पत्रकार सम्मेलन गरेरै दिइन्छ ।’
Leave a Reply