काठमाडौं । सभामुख देवराज घिमिरेले सूचनाको हक प्रजातन्त्रको प्राण भएको बताएका छन् ।
राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रम उद्घाटन गर्दै उनले प्रजातन्त्रमा सूचनाबिना मुलुक र जनताको विकास हुन नसक्ने बताएका हुन् ।
उनले भने, 'अहिले पनि सूचनाको हक हुन्छ भन्ने धेरै जनतालाई थाहा छैन, सरकारले गरेका कामकारबाही पारदर्शीरूपमा सार्वजनिक गर्ने र मुलुकमा सुशासन कायम गर्ने काम सूचनाको हकले गर्छ ।'
सभामुख घिमिरेले सार्वजनिक निकायले सूचना हक जानकारी गराउनुपर्छ भनेर सबैमा अभियानकै रूपमा सचेत गराउनुपर्नेमा पनि जोड दिए ।