काठमाडौं । मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारी टोली र मिटरब्याज पीडितबीच वार्ता सुरु भएको छ ।
काठमाडौंको शान्तिवाटिकास्थित फल्चामा सरकारी टोली र मिटरब्याज पीडितबीचवार्ता सुरु भएको हो ।
वार्तामा मिटरब्याज पीडितले ६ बुँदे मागपत्र पेश गरेका छन् । उनीहरुले मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध विभिन्न अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेका छन् ।
वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेत, उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनाली छन् ।