काठमाडौ. । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाललाई सीमा सुरक्षाको ‘डेडिकेटेड फोर्स’ बनाउन अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बिओपीको स्थापना गरिने बताएका छन् ।
मंगलबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय निरीक्षणका क्रममा उनले यस्तो बताएका हुन् । उनले मौजुदा बिओपीहरूको स्तरवृद्धि गर्दै समग्र संगठनलाई नै प्रविधिमैत्री एवं चलायमान बनाउनुपर्ने बताए ।
सशस्त्र प्रहरी बल नेपालसँग सम्बन्धित कानुनी विषयहरू (ऐन, नियमावली, कार्यविधि, मापदण्ड) लाई बदलिँदो परिवेशमा समसामयिक परिमार्जन, पुनरावलोकन गर्ने र आवश्यकताअनुसार नयाँ कानुन तर्जुमा गरिने उनले बताए ।
हिमाली क्षेत्रमा खटिने सुरक्षाकर्मीको लागि मापदण्ड अनुसारको पोशाक, सशस्त्र प्रहरी कर्मचारीलाई उपलब्ध हुने रासनको न्यायोचित वितरण तथा अन्य सेवासुविधामा उचित ध्यान पुर्याईने पनि मन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता गरे पनि सशस्त्र प्रहरी बलले ३५ करोड रुपैयाँ बराबरका स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागसहितका हिमाली आइटमका सामान खरिदको टेण्डरमा सेटिङ भएको तथ्य खुलेको छ ।
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बिष्णकुमार श्रेष्ठको कम्पनीलाई दिनेगरी सेटिङ भएको तथ्य खुलेको हो । आफूलाई बिष्णु पुरुषका नामले चिनाउने श्रेष्ठ गार्मेन्ट ब्यवसायी हुन् ।
लामिछाने उपप्रधान तथा गृहमन्त्री हुँदै हिमाली आइटमको लागि तत्कालीन अर्थमन्त्री बिष्णुप्रसाद पौडेलसँग भनेर सशस्त्रको हिमाली आइटम खरिदको बजेट छुट्याउन लगाइएको थियो ।
लामिछानेको पार्टीका केन्द्रीय सदस्य बिष्णुकुमार श्रेष्ठको नाममा रहेको कम्पनीबाट सशस्त्रमा बोलपत्र पेश गर्ने कार्य विवादित ठेकेदार राजमान मिश्रले गरेको खुलेको छ ।