काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले मिटरब्याज पीडितलाई खुलामञ्चको सट्टा शान्तिवाटिकामा बस्ने प्रस्ताव गरेका छन् ।
मेयर बालेनल फेसबुकमा लेख्दै मिटर ब्याज पीडितलाई पशुपति धर्मशालामा बस्न आग्रह गरेको तर नमानेको बताएका हुन् ।
मेयर बालेनले लेखेका छन्, ‘काठमाडौं बसुन्जेल पशुपति धर्मशालामा बास र खाना को ब्यवस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाँहरुसँग सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गर्यौं । तर उहाँहरु खुल्लामन्च मै बस्न खोज्नु भयो । हामीले सम्झाएर रत्नपार्कको शान्तिबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौं ।’
विभिन्न जिल्लाबाट पैदल हिँडेर आन्दोलनका लागि काठमाडौं आएका मिटरब्याज पीडितले सोमबार साँझ खुलामञ्च प्रवेश गर्न खोजेका थिए । तर महानगरपालिकाको नगर प्रहरीले गेटमै रोकेको थियो ।
रत्नपार्कको अगाडि रानीपोखरीबाहिरको क्षेत्रमा बस्न महानगरपालिकाले मिटरब्याज पीडितलाई आग्रह गरेको हो । तर मिटरब्याज पीडितहरुले खुलामञ्चमा नै बस्ने भन्दै खुलामञ्चको गेटबाहिर प्रदर्शन गरिरहेका छन् ।
मेयर बालेनले मिटरब्याज पीडितप्रति ऐक्यवद्धता रहेको भन्दै उनीहरुको माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् ।
Leave a Reply