काठमाडौं । सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउने किशोरीले घटनापछि खुसीसाथ म्यासेज गरेको देखिएको छ । सर्वोच्च अदालतले उच्च अदालतको आदेशविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सोमबार सन्दीपलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामै राख्नु पर्नेसम्मका तथ्य प्रमाण नदेखिएको ठहर गरेको छ ।
सर्वोच्चले लामिछानेलाई थुनामा राख्नु नपर्ने तथा विदेश जान लगाइएको रोक फुकुवा गर्न आदेश दिँदा केही नयाँ तथ्यहरुको उजागर गरेको हो । ती किशोरीले नगरकोट घुम्नुका साथै सिनामंगलस्थित होटलमा सन्दीपसँग रात बिताएर फर्किएपछि साथीलाई म्यासेज गर्दै लाइफकै रमाइलो पल हिजो भएको बताएको मिसिलमा संलग्न म्यासेजमा उल्लेख छ ।
सर्वोच्चको फैसलामा उल्लेख भए अनुसार सन्दीपले किशोरीलाई आफ्नो गाडीमा राखेर नगरकोट लगेका थिए । अनि, त्यही रात उनीहरु काठमाडौं फर्केर होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा बसेका थिए ।
प्रत्यक्षदर्शीको बयान तथा प्रमाणहरुको हावाला दिँदै सर्वोच्चले होटलमा आउँदा र जाँदा दुवैजना सहज अवस्थामा देखिएको उल्लेख गरेको छ । उच्च सरकारी वकिल कार्यालयले सन्दीपलाई पुर्पक्षका लागि थुनामै राख्नु पर्ने माग गरेको थियो ।
सन्दीपले भने आफू क्रिकेट खेल्न विदेश जान पाउनु पर्ने माग गर्दै निवेदन दिएका थिए । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासले सोमबार सन्दीपको निवेदन स्वीकार्दै उनलाई विदेश गएर खेल्न सशर्त अनुमति दिएको छ ।
Leave a Reply