Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • ‘नयाँ स्टन्ट’मन्त्रीको तमासा, रविचन्द्रको योजनामा यसरी फसाइए प्रेमनाथ ठाकुर

    ‘नयाँ स्टन्ट’मन्त्रीको तमासा, रविचन्द्रको योजनामा यसरी फसाइए प्रेमनाथ ठाकुर

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 2.7K
    SHARES

    काठमाडौं । सस्तो लोकप्रियता हासिल गर्ने राजनीतिलाई स्टन्टबाजी भनिन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती पनि रवि लामिछाने शैलीमा मातहतका कार्यालयमा स्टन्टबाजी गरी चर्चामा आउन थालेका छन् ।

    एक हवाई माफियाको इशारा अनुसार चल्न नमानेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय (टीआईए) का महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई मन्त्री किराँतीले बुझ्दै नबुझी शुक्रबार निलम्बन गरेका छन् । थाई स्माइल एयरलाइन्सका संचालक रविचन्द्र सिंहको ग्रान्डडिजाइनमा सोही एयरलाइन्सका इन्जीनीयर पोतिवती सिल्पेले ठाकुरलाई फसाउने उद्देश्यले गरेको अडियो कुराकानीका आधारमा उनलाई मन्त्रालयले निलम्बन गरेको जनाएको छ ।



    घुस मागेको कुराकानीको श्रब्य(अडियो) रेकर्डका आधारमा उनलाई निलम्बन गरिएको मन्त्रालयले बताइरहेको भए पनि उक्त अडियोमा ठाकुरले घुस मागेको पुष्टि नहुने तथा अनुसन्धान गर्ने हो भने उल्टै सिल्पे नै फस्ने देखिने टीआईएका एक अधिकारी बताउँछन् । सिल्पे अहिले नेपाल छाडेर भागिसकेको सूचना प्राप्त भएको छ । ठाकुरले फोन गर्दा थाई स्माइल एयरवेजका संचालक रविचन्द्र सिंहको इशारामा इन्जीनीयर सिल्पे एकोहोरो मसँग ४–५ लाखमात्र छ भनेको अडियोमा सुनिन्छ । ठाकुरले रकम तिर्नुस् भनेका छन् तर सिंहले भने मसँग यति लाख मात्रै छ भनेको सुनिन्छ ।



    थाई स्माइल एयरवेजले आर्थिक बर्ष २०७८–०७९ देखि नवीकरण गरेको छैन । ठाकुरले थाई स्माइल एयरवेजलाई नवीकरण गर्न आग्रह गरेको तर थाईले अटेर गर्दै आएको थियो । सो अडियोमा पनि ठाकुरले नवीकरण गर्न आग्रह गरेका छन् । हरेक आर्थिक बर्षमा एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणमा नवीकरण गरेर मात्र सेवा संचालन गर्नुपर्ने ब्यवस्था छ ।

    नागरिक उड्डयन प्राधिकरणको निर्देशिकाको परिच्छेद २, ३ र ४ बमोजिम अनुमति तथा प्रमाणपत्र प्राप्त गर्ने वायुसेवा तथा संस्थाको अवधि प्रत्येक असार मसान्तमा समाप्त हुनेछ । कसैले सेवाको अवधि नवीकरण गर्न चाहेमा प्राधिकरणमा विमानस्थल सेवा शुल्क नियमावली २०६७ मा उल्लेखित नवीकरण दस्तुर तिरी आर्थिक बर्ष समाप्त भएको १ हप्ताभित्र नवीकरण गर्न आवेदन दिनुपर्नेछ । सो अवधिभित्र नवीकरण नभएमा तोकिएबमोजिमको विलम्ब शुल्कबापत थप रकम तिरी १२० दिनभित्र प्राधिकरणले नवीकरण गराउन सक्नेछ । सो अवधिभित्र पनि नवीकरण नगरेमा अनुमति तथा प्रमाणपत्र स्वतः खारेज हुने उल्लेख छ ।

    टीआइएका प्रवक्ता तेजबहादुर पौड्यालले थाई स्माइलले प्यासिन्जर सर्भिस, ल्यान्डिङ पार्किङबापतको १ करोड ७० लाख रुपैयाँ तिर्न बाँकी रहेको बताए ।

    टीआइएलाई बक्यौता नतिरी अटेरी गर्ने थाई स्माइलका रविचन्द्र सिंहले ताकेता गर्दा उल्टै अडियोमा आफैं बोलेको कुराको अडियो पर्यटन मन्त्रालयमा दिएर ठाकुरलाई फसाएका हुन् । ठाकुरले थाई स्माइललाई नवीकरणका लागि ताकेता गरेपछि रुष्ट भएका रवि सिंहले उनलाई सरुवा गराउन खोजे । तर, सरुवा गराउन नसकेपछि अडियो रेकर्ड गरी मन्त्रालयमा बुझाएर निलम्बन गराउन सफल भएका छन् । सोसाईटी ट्राभलका सुनिल शर्मासँग पार्टनरसीप गरेका रविचन्द्र सिंहले थाई स्माइल लगायतका संस्थाको जीएसएस लिएपछि अलग भई सोसाइटी इन्टरनेशनल ट्राभल्स खोलेका हुन् । रवि सिंहको सोसाइटी इन्टरनेशनल ट्राभलले थाई स्माइलका अलावा वीज एयरलाइन्स, जजिरा एयरलाइन्स, गरुडा एयरलाइन्स, सिचुवान एयरलाइन्स र भूटान एयरलाइन्सको पनि जीएसए लिएको छ ।

    रवि सिंहले नागरिक उड्डयनका क्षेत्रमा पैसाको बलमा विना प्रतिस्पर्धा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखराका अलावा काठमाडौंमा समेत (यान्त्रिक परीक्षण (क्यालिब्रेसन फ्लाइट) को जिम्मा विनाप्रतिस्पर्धा नै पाएका थिए । त्यसमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग मिलेर करोडको चलखेल गरेका थिए । त्यसतर्फ स्टन्टबाज मन्त्री किँरातीले कारबाही गर्ने कुनै ध्यान दिएका छैनन् ।

    एरो थाईको जहाजबाट क्यालिब्रेसन उडान गर्ने क्रममा ४० देखि ५० लाख रुपैयाँमा हुने कामका लागि २ करोड रुपैयाँ भन्दा बढीमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले रविचन्द्र सिंहलाई दिएका थिए । एउटा एयरपोर्टमा क्यालिबे्रसन उडानका लागि उनले २ करोडभन्दा बढी प्राधिकरणबाट लिएका छन् । भारतमा क्यालिब्रेसन उडान २५ लाख रुपैयाँमा हुन्छ । क्यालिबे्रसन फ्लाइट ४० देखि ५० लाखमा जुनसुकै एयरलाइन्सले पनि गर्नसक्थे, तर, कमिसनको खेलमा रविचन्द्र सिंहको एरो थाईलाई दिइएको थियो ।

    भैरहवामा २०७८ फागुन ६ देखि १५ गतेसम्म क्यालिब्रेसन उडान भएको थियो भने पोखरामा २०७९ मंसिर ५ देखि १२ गतेसम्म क्यालिब्रेसन फ्लाइट गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राखिएको लोकलाइजर परीक्षणका लागि २०७९ मंसिर १५ गते क्यालिब्रेसन उडान गरिएको थियो ।

    कालोसूचीको कम्पनीलाई रवि सिंहको सेटिङमा अन्तःशुल्क स्टीकरको ठेक्का
    दीपक भट्ट भन्दा पनि रविचन्द्र सिंह ठूला बिचौलिया भएको तथ्य खुलेको छ । हवाई क्षेत्रमा ५ वटा एयरलाइन्सको जीएसए लिएका रवि सिंहसँग मासिक अरब रकम संकलन हुने गर्दछ । उनले त्यो रकम परिचालन गरी नेताहरुसँग पहुँच पुर्याएर अन्तःशुल्क स्टीकरको ठेक्कामा चलखेल गरेका थिए ।

    आन्तरिक राजस्व विभागबाट २०७६ मा अन्तःशुल्क स्टीकर छाप्न गरेको टेण्डर रद्द गरी पुनः २०७७ मा बोलपत्र सूचना निकालिएको थियो । भारतमा कालोसूचीमा परेको, भारतमै अन्तःशुल्क स्टीकर छपाईको अनुमति नलिएको मद्रास सेक्युरिटी प्रिन्टर्सले यातायात व्यवस्था विभागको स्मार्ट लाइसेन्सको ठेक्का लिएर कामै नगरी भागेको जानकारी हुँदाहुँदै पनि रविचन्द्र सिंहले यसअघिका अर्थमन्त्री जनार्दन शर्मालाई प्रभावमा पारी अन्तःशुल्क स्टीकरको ठेक्का पाएका थिए ।

    जुन ठेक्का बिरुद्ध नेपालमा नेपाल टेलिकमको रिचार्ज कार्ड लगायतका सेक्युरिटी प्रिन्टर्सको काम गरेको मिराज प्रिन्टिङ सोलुसन्सले २०७८ भदौमा सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । तर, मद्रास प्रिन्टर्सका नेपाली एजेन्ट रविचन्द्र सिंहले अदालतमा सेटिङ गरी १ बर्षपछि २०७९ भदौ अन्तिममा रिट खारेज गराउन सफल भए । र, २०७९ भदौमा आन्तरिक राजस्व विभागले १ अर्ब २७ करोड बराबरको ९ अर्ब प्रति अन्तःशुल्क स्टीकरको छपाइको ठेक्का मद्रास प्रिन्टर्सलाई दिएको छ ।

    नेपालमा ठूलो आर्थिक चलखेल र अदालत सेटिङमा अन्तःशुल्क स्टीकरको ठेक्का पाएको मद्रास सेक्युरिटीले भारतमै आधार कार्ड छपाइमा त्रुटि देखिएपछि कारबाहीमा परेको थियो । केन्यामा अन्तःशुल्क छपाइको ठेक्का पाएको मद्रास सेक्युरिटीले राजस्व चुहावट गर्न सहयोग गरेको पाइएपछि कालोसूचीमा परेको छ । नेपालमा पनि अन्तःशुल्कका नक्कली स्टीकर प्रयोग गरी मदिरा र सूर्तीजन्य उद्योगले अरबौं करछली गरेका घटना बारम्बार आइरहने गरेका छन् ।

    केन्यामा राजस्व चुहावट गरेको आरोप लागेको मद्रास प्रिन्टर्सलाई नै अन्तःशुल्क स्टीकर छपाइको ठेक्का दिएपछि नक्कली स्टीकर छाप्ने र केन्यामा जस्तै राजस्व छली हुने आशंका गर्ने ठाउँ दिएको छ । लाइसेन्स छाप्ने ठेक्का लिएर छाप्दै नछापी भागेको मद्रास प्रिन्टर्सकोबिरुद्ध परेको रिट खारेज गराउन रविचन्द्र सिंहले न्यायाधीशका परिवारका सदस्यलाई गाडी नै उपहार दिएको चर्चा पनि हुँदैआएको छ ।

    माओवादी नेता जनार्दन शर्मा र पम्फा भूसालसँग अत्यन्त निकट रविचन्द्र सिंहले मिल्दै नमिल्ने काम समेत उनीहरुबाट गराउने गरेका छन् । १ अर्ब २७ करोडको अन्तःशुल्क स्टीकर छपाईको ठेक्कामा नेपाली एजेन्ट रविचन्द्र सिंहलाई मुस्किलले २ करोड कमिसन प्राप्त हुन्छ । तर उनले अन्तःशुल्क स्टीकरको ठेक्का हात पार्न १० औं करोड खर्च किन गरे ? यसबारेमा खोज्दै जाने हो भने लहरो तान्दा पहरो नै आउनसक्ने आन्तरिक राजस्व विभागका एक अधिकारी बताउँछन् ।

    उनी भन्छन्–‘नेपालका अधिकांश मदिरा र सूर्ती उद्योगमा नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरी अरबाैं राजस्व छली हुँदै आएको छ । अरबौंको नक्कली अन्तःशुल्क स्टीकरको लहरो तान्दै जाने हो भने मद्रास प्रिन्टर्स जस्तो अन्तर्राष्ट्रिय जगतमा बदनाम कम्पनीले राज्यका निकायदेखि न्यायालयसम्म सेटिङमा करोडौं खर्च गरेर ठेक्का लिनुको रहस्य खुल्नेछ ।’

    सक्कली अन्तःशुल्क स्टीकर छपाई गर्ने ठाउँबाटै सिरियल नम्बरसहित मिलाएर नक्कली स्टीकर छापी राज्यलाई अरबौं राजस्व नोक्सान पार्ने खेलमा मद्रास प्रिन्टर्स छ कि भन्ने आशंका गर्ने ठाउँ पर्याप्त छ । केन्यामा अन्तःशुल्क छपाइको ठेक्का पाएको मद्रास प्रिन्टर्सको राजस्व चुहावट गर्ने कार्यमा संलग्नता देखिएपछि उक्त कम्पनीको ठेक्का रद्द गरी कालोसूचीमा राखिएको समाचार आइसकेको छ ।

    धेरै देशले अन्तःशुल्क स्टीकरमा स्क्यानर राख्न थालेका छन् । स्क्यानर राख्ने हो भने नक्कली अन्तःशुल्क स्टीकर प्रयोग न्यून हुन जान्छ । तर, नेपाल सरकार र अर्थमन्त्रालयले स्क्यानर राख्न कुनै चासो नै राखेका छैनन् । जसले नक्कली स्टीकर प्रयोगलाई बढावा दिएको छ ।

    रविचन्द्र सिंह नेपालका शक्तिशाली बिचौलिया हुन् । उनलाई माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले संरक्षण गरेका छन् । शर्मासँग उनको कनेक्सन यति बलियो छ कि सरकारले १ बर्षअघि २०७८ मङ्सिर २६ गतेदेखि विदेशी मुद्रा सञ्चितीमा कमी आएको जनाउँदै बिलासिताका वस्तु मोटरसाइकल, जीप कार भ्यान, तीन सय डलर मूल्यमाथिको मोबाइल, ५० इन्च माथिको टिभी र तयारी मदिरासहित ४७ किसिमका आयातमा प्रतिबन्ध लगाएको थियो ।

    त्यो समयमा रविचन्द्र सिंहले जनार्दन शर्माको पहुँच प्रयोग गरी ५ करोड रुपैयाँ पर्ने ल्यान्डक्रुजर भन्सारछुटमा नेपालमा ल्याएका थिए । जनार्दन शर्मा अर्थमन्त्री हुँदा उनले राज्यले प्रतिबन्ध लगाएको गाडीसमेत भन्सारछुटमा ल्याउन सफल हुनुले उनको शक्ति कति छ भन्ने पुष्टि हुन्छ । यस विषयमा प्रतिक्रिया लिन रवि सिंहलाई पटक–पटक सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार