काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा.धवलशमशेर राणाले संसदमा आफूहरुलाई नहेप्न आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुलाई हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्नकै जनताले मत दिएको भन्दै संसदमा नहेप्न आग्रह गरे ।
राप्रपा नेता राणाले आफ्नो बोल्ने पालोमा धर्मनिरपेक्षता र गणतन्त्रलाई संविधानले अपरिवर्तनीय विषय नमालेको बताए ।
उनले भने, ‘हामी नेपालमा फेरि सनातन धर्म हिन्दु राष्ट्र कायम गर्न आएका छौं, हामी फेरि राजासहितको प्रजातन्त्र स्थापित गर्न आएका छौं । यो कुरा धर्म निरपेक्षता र गणतन्त्रविरुद्ध बोल्न संविधानले रोक्दैन । संविधानमा अपरिवर्तनीय बुँदा होइन, हामीले बोल्न पाउनुपर्छ ।’
हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्नु संविधान विपरीत नहुने पनि महामन्त्री राणाले बताए ।
बुधबार नै प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले राप्रपाबाट मन्त्री बनेका नेताहरुले हिन्दुराष्ट्र र राजतन्त्रको वकालत गरेको भन्दै विरोध जनाएका थिए ।