काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले विवादस्पद कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गर्दा त्रुटि भएको स्वीकार गरेका छन् ।
क्रिकेट संघले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले अञ्जानमा त्रुटि भएको बताएका हुन् ।
उनले नेपाल टी–२० लिगका क्रममा सेभेन थ्री स्पोर्टससँग सम्झौता गर्दा त्रुटि भएको तर आफूहरुको नियत गलत नभएको बताए । सम्झौताअनुसार काम अघि बढाउन रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टसलाई दबाव दिन नसक्नु कमजोरी भएको अध्यक्ष चन्दले बताए ।
उनले क्यानले गल्ती गरेको स्वीकार गर्दै अब आउने दिनमा यसलाई सच्याएर जाने बताए । उनले प्रतियोगितामा नकारात्मक काम मात्र नभएको दाबी गरे । प्रतियोगिता भएको, नेपाली खेलाडीहरुले ८० प्रतिशत पैसा पाएको र अरु पनि पाउने क्रममा रहेको उनको दाबी छ ।
सेभेन थ्री स्पोर्ट्स र लिगको सम्झौता गरेको २ वर्ष भएको छ । २०२० जनावरीमा एमओयु भएको थियो । असोक नाथ प्याकुरेल र अध्यक्ष चन्दले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टी–२० लिगमा भएको प्रतियोगितामा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको अनुसन्धानले देखाएको छ ।
नेपाली क्रिकेटर आदिल आलम र पूर्व क्रिकेटर मोहबुब आलम पक्राउ परेका छन् भने उनीहरुसहित १० जनाविरुद्ध मुद्दा चलाउने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को तयारी छ ।
Leave a Reply