काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । बिहीबार पाटन उच्च अदालतले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिए पनि शुक्रबार दिउँसो मात्र धरौटी बुझाएर उनी रिहा भएका हुन् ।
रिहा भएलगत्तै लामिछानेलाई स्वागत गर्न शुभेच्छुकहरुको भीड लागेको थियो । नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई धरौटीमा छाड्न बिहीवार उच्च अदालतले आदेश दिएको थियो ।
थुनामुक्त भएपछि सन्दीपले सुरुमा केही समय परिवारसँग समय बिताउने बताए। क्रिकेटमा फर्कने विषयमा सन्दीपले भने, ‘छिट्टै क्रिकेट मैदान फर्किन्छु। एकदमै राम्रोसँग फर्कन्छु।’ थुनामुक्त भएपछि सन्दीप काठमाडौंमा बस्नेछन्।
धरौटीमा रिहा भए पनि सन्दीपको मुद्दाको अन्तिम टुंगो भने लागिसकेको छैन । जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेकाले जेलमुक्त गर्नुअघि उनलाई तारेखका लागि अदालत पुर्याइएको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।
लामिछाने काठमाडौं उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो ।
लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो।
लामिछानेले भने आफूविरूद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए। लामिछाने गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए।
Leave a Reply