काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशी गठबन्धन ढाल्नु एमालेको सफलता भएको बताएका छन् ।
जनसंगठनका पदाधिकारीहरूलाई प्रशिक्षण दिन आइतबार धुलिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले असंवैधानिक र अनैतिक ढंगबाट बनाइएको परमादेशी गठबन्धनलाई परास्त गर्ने आफूहरूको चुनावअघिको घोषणा सफल पारिएको दाबी गरे ।
ओलीले भने, ‘हामीले असंवैधानिक र अनैतिक ढंगले अदालतले बनाइदिएको परमादेशी गठबन्धनलाई परास्त गरेर नयाँ जनादेश बमोजिम सरकार बनाउँछौं भनेर चुनावमै भनेकै थियौं । त्यसलाई निर्वाचनपछि सफलतापूर्वक सम्पन्न गरेका छौं ।’
अध्यक्ष ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै अझै पनि एमाले नेतृत्वको कम्युनिष्ट सरकार र पार्टी ढालेर कोर्ष करेक्सन गरेकोमा गर्व गरिरहेको टिप्पणी गरे ।
नेपालले शनिवार आयोजित कार्यक्रममा आफ्नै अगुवाईमा केपी ओलीलाई ढालेर राजनीतिलाई सही दिशामा लगेको बताएका थिए ।
ओलीले एमालेलाई सिध्यायौं भनेर दंग परे पनि एमाले भनेको रक्तबीज भएकाले यो अझ मजबुत हुने बताए । कांग्रेसले गठबन्धनको बल र बुथ कब्जा गरेर केही सीट एमालेभन्दा बढी जिते पनि एमालेलाई जनताले लोकप्रिय मतमा पहिलो बनाएको ओलीको भनाइ थियो ।
Leave a Reply