रौतहट । रौतहट स्थित प्रहरीको छुट्टाछुट्टै गस्ती टोलीले झन्डै १० लाख मूल्य बराबरको अवैध भारतीय रेडिमेड कपडा बरामद गर्नुका साथै लागुऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त टोलीले चन्द्रपुर तल्लो बजार स्थित झन्डै १० लाख मूल्य बराबरको रेडिमेड कपडा बरामद गरेको हो।
भन्सार छली अवैध कपडा भित्र्याएको सूचनाको आधारमा गएको टोलीले लेडिज उलन, कुर्ता सुरवाल, लेहेँगा चुनरीलगायत ९ लाख ९७ हजार ८५० बराबरको विभिन्न कपडा बरामद गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जिल्ला प्रहरी रौतहटले जनाएको छ ।
त्यसैगरी पसलमा लागुऔषध गाँजा बिक्री गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी माधोपुरको संयुक्त टोलीले माधव नारायण नगरपालिका ५ मिठुअवाका प्रेमलाल साहको घरमा छापामारेको थियो ।
सो क्रममा साहको घरमा साढे दुई किलोग्राम लागुऔषध गाँजा बरामद भएपछि गाँजा सहित उनको श्रीमती वर्ष ५२ की सितापती देवीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
गाँजा सहित पक्राउ परेकी सितापती देवीमाथि लागुऔषध बेचबिखन सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
Leave a Reply