Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विभिन्न जिल्लामा मल पठाउन थालियो, वीरगञ्ज आइपुग्यो पाँच हजार मेट्रिक टन युरिया

वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत् खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ। पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो।

दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल पाँच हजार मेट्रिक टन (एक लाख बोरा) रासायनिक मललाई आवश्यकताअनुसार विभिन्न जिल्ला पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी आलोक कुमारले जानकारी दिए।

'बाँकी रासायनिक मल भित्रिने क्रम जारी छ', उनले भने। उक्त नाकाबाट १२ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयमा ल्याइँदै छ।

कार्यालयले मधेस प्रदेशसहित काठमाडौं, काभ्रे, धादिङ, मकवानपुर, सिन्धुली, चितवन, तनहुँ, पर्वत, नुवाकोट, कास्कीलगायत १६ जिल्लामा रासायनिक मलको आपूर्ति गर्दै आएको छ। विभिन्न जिल्लामा रहेको कृषि सामग्री कम्पनीको कार्यालयमार्फत् किसानलाई मल विवरण गरिने छ।

रासायनिक मल वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) नाका हुँदै नेपाल ल्याइएको हो। सरकारले ग्लोबल बोलपत्रमार्फत् ओमानबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल आपूर्तिको जिम्मा स्वीस सिङ्गापुर ओभरसिज इन्टरप्राइजेज लिमिटेडले पाएको थियो।

ओमानबाट नेपालका लागि आयात गरिएको मल पानीजहाजमा सामुद्रिक मार्ग, भारतको कोलकाता बन्दरगाह हुँदै त्यहाँबाट रेलमा वीरगञ्ज ढुवानी भएको हो।

ओमानबाट अहिले खरिद गरी आयात भइरहेको ३० हजार मेट्रिक टन युरियामध्ये मधेस प्रदेशमा आठ हजार पाँच सय मेट्रिक टन वितरण गरिने छ। पर्साका लागि भने आठ सय ५० मेट्रिक टन (१७ हजार बोरा) र बाराका लागि एक हजार मेट्रिक टन (२० हजार बोरा) युरिया वितरण गरिने छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077