एजेन्सी । श्रेयस ऐयरको अर्धशतक तथा रवी विश्नोईको चार विकेटप्रेरित भारतले आइतबार राति वेस्ट इन्डिजविरुद्धको पाँचौँ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८८ रनको विजय हासिल गरेको छ । योसँगै पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा भारत ४–१ ले विजयी भएको छ ।
लाउडरहिलस्थित सेन्टर ब्रोवार्ड रिजनल पार्कमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । पाहुना टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८८ रन बनाएको थियो ।
भारतका सबै स्पिनर मिलेर १० विकेट लिएपछि १८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १५.४ ओभरमा १०० रन बनाउँदा सबै विकेट गुमायो । पुरुष ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबै १० विकेट स्पिन बलरले मात्र लिएको यो पहिलो खेल हो ।
यसअघि, एक इनिङमा स्पिनरहरूले बढीमा नौ विकेट मात्र लिन सकेका थिए । गएको जुनमा अष्ट्रियाका स्पिनरहरूले हंगेरीविरुद्ध नौ विकेट लिएका थिए ।