बुटवल । श्रीमानसँग नसोधी एक हजार रुपैयाँ खर्च गरेको निहुँमा रुपन्देहीमा एक महिलाको हत्या भएको छ । कञ्चन गाउँपालिका १ की ३१ वर्षीया सावित्री थापा क्षेत्रीको हत्या भएको हो ।
हत्या आरोपमा उनका श्रीमान यमबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाले एक हजार रुपैयाँ चोरेको रिसमा कुटपिट गर्दा ३१ वर्षकी पत्नी सावित्रीको मृत्यु भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सावित्रीले साउन १० गते साँझ दराजमा श्रीमानले राखेको एक हजार रुपैयाँ झिकेकी थिइन् ।
राति २ बजे यमबहादुरले पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई किन नसोधी पैसा झिकेको भनी कुटपिट गर्दा मृत्यु भएको खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।
मृतकको टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्राहरू, कोठामा रगत बगेको, छिटाहरु देखिएको र शरीरका विभिन्न भागमा निलडामसमेत देखिएको थियो । यम बहादुरलाई ज्यान सम्बन्धी कसुर अन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply