काठमाडौँ । सुन तस्करीको आरोपमा भारतीय र चिनियाँ नागरिकसहित ७ जनालाई पक्राउ परेका छन् ।
दुबईबाट तस्करीको सुन लिएर आएका दुई जनाको बयानपछि एक चिनियाँसहित थप ५ जना काठमाडौंबाट पक्राउ परेका हुन् ।
शनिबार दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नेपाल वायु सेवा निगमको जहाजमा सवार वाणगंगा नगरपालिका ४, कपिलवस्तुका २९ वर्षीय सन्दीप चन्द ठकुरी र सैनामैना १, रुपन्देहीका ४२ वर्षीय सुरेशबहादुर शाहीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले करिब १ केजी सुनसहित विमानस्थलबाट पक्राउ गरेको हो ।
उनीहरूसँगको बयान र अन्य सूचनाका आधारमा प्रहरीले चीनको तिब्बत (छेन्दु) घर भई काठमाडौं बौद्ध बस्ने २७ वर्षीय लोप्साङ ग्याल्सेन र भारतको दिल्ली (कृष्णनगर)घर भई ललितपुर बागडोल बस्ने ५१ वर्षीय अमन राजपुतसहित बाराकी २२ वर्षीया निर्मला घलान, धनुषा बडेश्वरका राहुल भन्ने ४१ वर्षीय वरुणभक्त माथेमा र पश्चिम नवलपरासी सुनवलका ४२ वर्षीय युवराज भुसाललाई पक्राउ गरेको हो ।
भित्री वस्त्रमा लुकाएर ल्याइएको अवस्थामा ठकुरीको साथबाट प्रहरीले ५ सय ७२।१६० ग्राम र शाहीको साथबाट ३ सय १६.८१ ग्राम सुन बरामद गरेको थियो ।
सुन कारोबारमा चिनियाँ र भारतीयको संलग्नता खुलेपछि यसबारेको कनेक्सन खोज्न प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका सात जनालाई बरामद सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।