काठमाडौं । चितवनमा क्रिकेट रंगशाला अलपत्र छोडेपछि पटक–पटक विवादमा पर्दै आएका धुर्मुसको नामले परिचित चर्चित कलाकार सिताराम कट्टेल नेपाल फर्किएका छन् । धुर्मुस केही समय अघि श्रीमती सुन्तली उर्फ कुञ्जना घिमिरे र छोरीसहित अमेरिका पुगेका थिए।
उनीहरू अमेरिका गएपछि उनीहरुमाथि विभिन्न टीक्काटिप्पणी तथा प्रश्नहरू उठिरहेको थियो। उनीमाथि ‘नेपाल छोडेर भागेको’ आरोप लागेको थियो। तर, सुन्तलीले आज धुर्मुस नेपाल फर्केको जानकारी दिएकी छिन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले धुर्मुसलाई सहयोग गर्न पनि विन्ति गरेकी छन् । आफूहरुमाथि लागेको सबै आरोपको खण्डन गर्दै उनले आफूहरु भागेको होइन, निसास्सियर बाँन्च नसकेर हिँडेको बताएकी छन् ।
सामाजिक सञ्जालमा दुईवटा फोटो सार्वजनिक गर्दै उनले लेखेकी छन्–‘भागेको होइन, पलपल मर्न नसकेर,सास फेर्न गार्हो भएर निसास्सिएर बाँच्न सकिन,मरेर न्याय पाइदैन, जसरी हुन्छ जिउनुपर्छ भनेर सबैसंग चित्त दुखेर हिँडको। जति पटक यो फोटो हेर्छु आज पनि डाँको छोडेर रुन्छु।मेरो धुर्मु न्याय खोज्न आफ्नो देश फर्केको छ, हामीलाई खेद्न छोडेर उसलाई साथ दिनुहोस् बिन्ती ! (फोटो अमेरिका आउनु भन्दा केहि महिना अगाडिको)’
हास्यकलाकारद्वय धुर्मुस र सुन्तलीको जोडीले संयुक्त रूपमा स्थापना गरेको धुर्मुस सुन्तली फाउण्डेशनले चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण थालेको थियो ।
कलाकारका रूपमा सक्रिय धुर्मुस सुन्तलीले २०७२ सालको महाभूकम्पपछि देशविदेशबाट सहयोग जुटाएर एकीकृत बस्ती निर्माण गरेका थिए । उक्त सफलतापछि २०७४ चैतमा चितवनमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणासहित फाउन्डेसनले २०७५ देखि निर्माणको कार्य सुरु गरेको थियो ।
तर बजेट अभावका कारण २०७८ साउनदेखि रंगशाला निर्माणको काम रोकिएको थियो । त्यतिन्जेल स्थानीय व्यक्ति, निर्माण कम्पनी, किराना पसल तथा श्रमिकसम्मलाई तिर्नुपर्ने ऋण १८ करोड ४३ लाख रुपैयाँ नाघिसकेको थियो ।
जुन रकम फाउन्डेसनले तिर्न नसकेपछि हालसम्म उक्त ऋणको विवाद कायमै छ । २०८० असार १२ गते मन्त्रिपरिषद् बैठकले १२ करोड रुपैयाँ अनुदान पठाउने निर्णय गरेपनि उक्त रकम भुक्तानी हुन नसक्दा फ्रिज भएको थियो ।
ऋण तिर्न नसकेपछि फउण्डेसनले काम नै अगाडि बढाउन सकेन । रंगशाला निर्माणका लागि निर्माण सामग्री लिएर पैसा नदिएको भन्दै विभिन्न सप्लायर्सले फाउण्डेसनविरुद्ध मुद्दा नै दर्ता गराए ।
मुद्दा खेपेर भए पनि सप्लायर्सहरुले पाउनुपर्ने रकम दिलाउन दिन–रात लागिपरेकका फाउण्डेसनका अध्यक्ष धुर्मुस यही तनावले केही समय अघि विरामी परेको भन्दै भिडियोहरु पनि सामाजिक सञ्जालमा भाइरल भएका थिए । अन्ततः उनी फेरि नेपाल फर्किका छन् । आशा गरौं उनले फाउण्डेसनको हिसाव किताव मिलाउनेछन् ।
रंगशालाले तिर्नुपर्ने ठूलो दायित्वमा सबैभन्दा बढी रकम चितवन रेडिमिक्सको झण्डै ३ करोड ४७ लाख २६ हजार छ ।
हामा स्टिललाई २ करोड २ लाख, जगदम्बा इन्टरप्राइजेजलाई २ करोड ३५ लाख, विशेष एण्ड को प्राइभेट लिमिटेडलाई २ करोड १५ लाख रहेको छ । त्यसबाहेक विभिन्न सप्लायर्सलाई रकम तिर्न बाँकी रहेको फउण्डेसनले जनाउँदै आएको छ ।