काठमाडौं । सोर्स कोड (कम्प्युटर स्रोत संकेत) चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले वौद्धिक सम्पत्तिमा आघात पुर्याई हानी नोक्सानी पुर्याउने कार्यमा संलग्न रहेको आरोपमा ललितपुर सानेपास्थित म्याट्रिक्स सफ्टेक प्रालिका सञ्चालक तनहुँ भिमाद नगरपालिका–१ किहुँका ३५ वर्षीय सन्तोष सिग्देललाई पक्राउ गरेको हो ।
उनले राजश्व व्यवस्थापन नामक सफ्टवेयरको 'सोर्स कोड' अनधिकृत रूपमा पहुँच पुर्याएर चोरी गरेको आरोप छ । नेपालका केही स्थानीय तहहरूमा उक्त सफ्टवेयर बिक्री गर्ने कार्यमा संलग्न उनलाई साइबर ब्युरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँदिन म्याद थप अनुमति लिई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।