स्याङ्जा । पूर्व भुमी व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालका श्रीमान् लक्ष्मीपति पौडेल वडा सदस्यमै पराजित भएका छन् ।
केपी शर्मा ओलीको पालामा सबैभन्दा हर्ताकर्ता मन्त्री बनेकी अर्यालले गुठिसम्बन्धी विवादास्पद विधेयक ल्याउँदा काठमाडौंबासी आन्दोलन सरकारले थेग्न सकेको थिएन । पछि उक्त विधेयक नै रद्द गरिएको थियो ।
मन्त्री हुँदा ठूलो धक्का खाएकी उनै अर्याललाई अहिले फेरि अर्को ठूलो धक्का लागेको छ । वालिङ नगरपालिका–१ को सदस्यमा उम्मेदवार दिएका पति लक्ष्मीपति पौडेल पराजित भएसँगै मन्त्री अर्याललाई ठूलो धक्का लागेको हो । अर्याल नेकपा एमालेकी सचिव समेत हुन् ।
पौडेललाई करिब पाँच सयको मतान्तरसहित नेपाली काङ्ग्रेसका २६ वर्षीय शम्भव अर्यालले पराजित गरेका हुन् । एमालेबाट खुल्ला सदस्यको उम्मेदवार बनेका पौडेल ४६७ मतले कांग्रेस उम्मेदवारसँग पछि परेका हुन् ।
विजयी उम्मेदवार कांग्रेसका सम्भव अर्यालले १ हजार १ सय १२ भोट ल्याएका थिए भने पौडेलले ६४५ भोट पाए । यस वडामा १८३४ भोट खसेको थियो । वालिङकाृ १ र २ वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ भने ३ नम्बर वडा एमालेले जितेको छ ।
पद्माले आफ्ना श्रीमानलाई जिल्ला समन्वय समिति संयोजक पद दिलाउने गरि वडा सदस्यमा उठाएकी थिइन् । तर, निर्वाचनमा पराजित भएपछि पतिलाई जिल्ला समन्वय समिति संयोजक पद दिलाउने सपनामा तुषारापात लागेको छ ।
पराजित भएपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै पौडेलले नतिजालाई स्वभाविक रुपमा लिने बताएका छन् । उनले भनेका छन्–‘चुनावमा गएपछि हारजित भइहाल्छ, जितेको अवस्थामा जनताकै काम गर्ने हो, हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने हो ।’
Leave a Reply