काठमाडौं । आज आइतबारबाट ६ महानगर र ४ नगरपालिकाको मतपत्र छपाइ शुरू हुने भएको छ । निर्वाचन आयोगले त्योबाहेक स्वतन्त्र उम्मेदवार बढी भएका केही जिल्लाका पुनः मतपत्र छपाइ गर्ने भएको छ । उम्मेदवारको संख्याको आधारमा ६ महानगर र ४ नगरपालिकाको मतपत्र छपाइ हुन लागेको हो ।
निर्वाचन आयोगले हिजो शनिबार ६ महानगर र भक्तपुरका ४ नगरपालिकाका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेलगत्तै मतपत्र छपाइ प्रक्रिया शुरू गर्न लागेको हो । आयोगले जनक शिक्षा सामाग्री केन्द्रका उच्च अधिकारीलाई ६ महानगरपालिका र भक्तपुरका ४ नगरपालिकाको मतपत्र छाप्नका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
अब बाँकी रहेका स्थानीय तहका करिब १३ लाख मतपत्र छपाइ हुनेछ । केन्द्रले हालसम्म १ करोड ८१ लाख थान मतपत्र छपाइ सम्पन्न गरिरहेको आयोगले १ करोड ९४ लाख मतपत्र छपाइ गर्ने जनाइसकेको छ । जनक शिक्षाले गएको चैत १६ गतेबाट मतपत्र छपाइ शुरू गरेको थियो ।
केन्द्रले आजबाट काठमाडौं, ललितपुर, विराटनगर, भरतपुर, पोखरा र वीरगन्ज महानगरपालिकाको मतपत्र छपाइ शुरू गर्न लागेको छ । त्यस्तै भक्तपुर जिल्लाको भक्तपुर, मध्यपुरथिमी, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको मतपत्र पनि आजबाटै छपाइ शुरू गर्न लागेको हो ।
जनक शिक्षाले २० गतेभित्र बाँकी स्थानीय तहको मतपत्र छपाइ सम्पन्न गर्ने जनाएको छ ।आयोगले स्वतन्त्र उम्मेदवारको संख्या बढी भएपछि ती स्थानीय तहको मतपत्र आजबाट छाप्न लागेको हो । नेपाल समाचारपत्र दैनिकबाट
Leave a Reply