Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आचारसंहिता पालना गर्ने सुदूरपश्चिमका दलहरुको प्रतिवद्धता

धनगढी । सुदूरपश्चिमका राजनीतिक दल तथा विभिन्न सरोकारवालाहरूले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । राजनीतिक दल तथा सरोकारवालाहरूले बुधवार स्वच्छ, निष्पक्ष तथा भयरहित स्थानीय निर्वाचनका लागी सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तरक्रिया कार्यक्रममा सो प्रतिबद्धता जाहेर गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण चौधरीले वैशाख ३० गते हुने स्थानीय चुनावमा अरू पार्टी कसले के गर्छन् भन्ने थाहा नभएको र आफ्नो पार्टी नेकपा माओवादीले भने आचारसंहिता विरुद्ध कुनै पनि कार्य नगर्ने र निर्वाचन आचारसंहिता पालना गर्न प्रतिबद्ध रहेको बताए ।

यस्तै, नेकपा एकीकृत समाजवादीका नेता दीर्घ जोशीले आफ्नो पार्टी प्रदेशमा सबै भन्दा ठुलो पार्टी भएको हैसियतले पनि अरू पार्टी भन्दा जिम्मेवार ढङ्गले आचार संहिता पालना गर्ने र राज्यले जारी गरे सबै खाले नियम कानुनहरू नैतिक रूपमा बाँधिएर पालना गर्न प्रतिबद्ध रहेको बताए ।

त्यस्तै, जसपा कैलालीका नेता माधव थारुले विगतमा जस्तो राज्यका नियमनकारी निकाय प्रहरी प्रशासनबाट साना दल ठुला दल भनेर फरक व्यवहार नहुने विश्वास व्यक्त गर्दै आफ्नो पार्टी तथा कार्यकर्ताहरू निर्वाचन आचार संहिता पालना गर्न प्रतिबद्ध रहेको बताए ।

यस्तै, नेकपा एमाले कैलालीका नेता लोकेन्द्र सिंहले कुनै पनि पार्टीका उम्मेदवारहरू विरुद्ध उजुरी गर्ने वातावरणको सिर्जना नहोस् र आफ्नो पार्टीले पनि त्यो अवस्थाको सिर्जना नगर्ने बताउँदै नेकपा एमाले सदा नियम, कानुन एवम् निर्वाचन आयोगले जारी गरेको आचार संहिता पालना गर्न प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077