Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अध्यक्ष ओली भन्छन्–मधेशवादी दल जनतालाई अल्मल्याएर मसिहा बन्न खोजिरहेका छन्

सर्लाही । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दल नक्कली मुक्तिदाता रहेको आरोप लगाएका छन्। मधेसका मसिहा भनिनेहरु लाजै पचाएर सरकारमा बसिरहेको आरोप लगाएका अध्यक्ष ओलीले मधेसी जनतालाई भ्रममा पारेर, विकासका कामहरुलाई अवरोध गरेर, मधेसी जनतालाई अल्मल्याएर, अशान्ति फैलाएर, मधेसवादी दल मसिहा बन्न खोजेको बताए।

सर्लाही सदरमुकाम मलंगवामा शनिबार आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले मधेसका जनताका लागि नागरिकता विधेयक पास नहुँदा पनि सत्ताको लोभमा मधेसवादी दल सरकारमा बसेको आरोप लगाए ।

उनले भने–‘मधेसका मसिहाहरुलाई थोरै पनि लाज छैन, नागरिकता विधेयक पास नहुँदा सरकारबाट बाहिरिनु पर्ने हो, तर उनीहरु यसो गर्न सक्दैनन् । उनीहरु जनताका मुद्दाभन्दा सत्तालाई बढी प्राथमिकता राख्छन् ।’

ओलीले मधेसका जनताको समस्या बनेको नागरिकतामा एमालेले अध्यादेश ल्याएर समस्या समाधान खोजे पनि काम गर्न नदिएको दाबी गरे । पूर्वप्रधानमन्त्री ओलीले एमाले नेतृत्वमा सरकार बन्नासाथ नागरिकता विधेयक पारित गर्ने र नागरिकता पाउनबाट बञ्चित मधेसी नागरिकलाई नागरिकता दिलाउने आश्वासन बाँडे ।

मधेसविरोधी नेताको छवि बनाएका ओलीले मधेसवादी दलका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र रायको गुहजिल्लामा बोल्दै ओलीले मधेस होस वा पहाड, तराई होस् वा हिमाल सबै ठाउँका जनताका लागि एमालेको नजर एउटै रहेको दाबी गरे ।

जसपामा रहेको कविलासी नगरपालिकाका मेयर कौशलकिशोर यादवलगायतलाई पार्टी प्रवेश गराएका ओलीले विस्तारै मधेसका नागरिकहरु मधेसका मसिहाहरुबाट मुक्त भइरहेको बताए ।

मधेसवादीहरुले एमालेविरुद्धको प्रचार अभियान चलाइहेको बताउँदै उनले भने–‘एमालेको विरोध गर्दागर्दै मेरो नेतृत्वको सरकार बनेपछि २०७२ सालमा २० वर्षदेखि बन्न नसकेको हुलाकी सडक बनाउने निर्णय गरेको थिएँ। १० अर्ब रुपैँया हुलाकी सडकका लागि छुट्याएको सबैलाई जानकारी गराउन चाहन्छौं ।’

उनले प्रधानमन्त्री भएपछि आफ्नै नेतृत्वमा जनकपुरमा रेलको लिक बनेको बताए। उनले भने–‘रेल किन्ने पार्टी पनि एमाले नै हो। कांग्रेसले लिक बनाउने र रेल किन्न पार्टी त होइन। जसपा त होइन्। मधेसको जनताका लागि रेल सुविधा दिँदा पनि एमालेलाई मधेसविरोधी भनेर भ्रम फैलाउँदै छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077