काठमाडौं । स्थानीय तह निर्वाचन प्रयोजनका लागि हालसम्म २९ वटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन एकता, राष्ट्रिय जनमुक्ति विवेकशील पार्टीलगायत २९ दल दर्ता भएको जानकारी दिइएको हो ।
यस्तै, आयोगले स्थानीय निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ बजेट माग गर्ने निर्णय गरेको पनि सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि फागुन ५ सूचना निकालेर फागुन १५ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको थियो ।
निर्वाचनमा खटिने १ लाख १० हजार ७१३ जना अनुमानित जनशक्तिको प्रतिव्यक्ति २० लाख रुपैयाँको दरमा बिमा गर्नुपर्ने भएकोले फागुन ११ गते सार्वजनिक सूचना जारी गरी सम्बन्धित बिमा कम्पनीसँग प्रस्ताव आह्वान गरिएको पनि जानकारी दिइएको छ ।