काठमाडौँ । छिमेकी मुलुक चीनमा उपचारत नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन आज चार्टड विमानमार्फत् स्वदेश फर्कंदै छन् । पारिवारिक स्रोतका अनुसार पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती मगरका साथ आज साँझ चार्टर विमानमार्फत नेपाल आउन लागेका हुन्।
सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुनले पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत् दिइएको छ । यद्यपि उनी चार्टड विमानमार्फत स्वदेश आउन लागेको खबरले भने सामाजिक सञ्जाल तातेको छ । नेता पुन चार्टर विमानमार्फत नेपाल आउन लागेको समाचार बाहिरिएपछि भने उनको आर्थिक हैसियतबारे प्रश्न उठेका छन्।
वंशाणुगत जण्डिसका पुरानो बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सक र पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए । बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदा समेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि उनलाई १० मंसिरमा चीन लगिएको थियो ।
पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको थियो। हाल उनको शरीरमा बिलुरुबिन (जण्डिस) को मात्रा नियन्त्रित अवस्थामा रहेको पारिवारिक स्रोतको भनाइ छ ।
Leave a Reply