काठमाडौं । एन आई सी एशिया बैंक र वर्ल्ड रेमिटबीच दक्षिणपूर्वी एशियाली देश मलेसियाबाटसमेत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी साझेदारी सम्झौता भएको छ । यसअघि विश्वका ५० भन्दा बढी मुलुकहरूबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने गरी एन आई सी एशिया बैंक र वर्ल्ड रेमिटबीच रणनीतिक साझेदारी भइसकेको छ । अब त्यसमा मलेसिया पनि थपिएको हो ।
बैंकले आइतबार एक विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएको हो । साझेदारीसँगै यसबाट मलेसियामा बस्दै आएका नेपाली महानुभावहरूले बिना झन्झट वर्ल्ड रेमिटको एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सक्ने बैंकले जनाएको छ । यसका अलावा विदेशबाट आफुले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका १२ हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्था समेत रहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ–‘यस साझेदारीले मलेसियामा लाखौंको संख्यामा रहनुभएका नेपाली महानुभावहरूले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै नेपालमा रहनुभएको आफ्ना परिवारजन तथा आफन्तहरूलाई तत्काल सुरक्षित रुपमा रकम पठाउन सक्नुहुनेछ । नेपाली महानुभावहरूले वर्ल्ड रेमिट एपका अलावा यसको वेबसाइट https://www.worldremit.com/en/Nepal लगइन गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सक्नुहुनेछ । साथै, अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजिल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी सहज रुपमा रकम पठाउन सकिने व्यवस्था रहेको छ ।’
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरू मार्फत ग्राहक महानुभावहरू माझ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।
Leave a Reply