Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मकालु आधार शिविरमा फसेका चार जनाको हेलिकप्टरमार्फत उद्धार

संखुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरबाट चार जनाको उद्धार भएको छ । मकालु आधार शिविरको हिउँमा फसेका चार नेपालीको आज हेलिकप्टरमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि गत असोज २५ गते तीन विदेशी पर्यटकसहित सात नेपाली मकालु आधार शिविर पुगेका थिए । मकालु आधार शिविरको हिउँमा काठमाडौँका अनोज चुडाल, सोलुखुम्बुका जङ्ग कुलुङ राई, दीपक कुलुङ राई, दीनेन्द्र कुलुङ राईलाई हेलिकप्टरमार्फत उद्धार गरेर सोलुखुम्बु लगिएको टोलीका सदस्य निरज कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार सोलुखुम्बुका विष्णु कुलुङ राई र तेन्जिङ भोटेको उद्धार हुन बाँकी रहेको छ । विष्णु र तेञ्जिङ मकालु–२ को लाङमालेमै रहेको कार्कीले बताए ।

मकालु आधार शिविरको हिउँमा फसेका कार्की र डेनमार्कका दुई नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गरेर आइतबार नै काठमाडौँ लगिएको थियो । गत असोज २५ गते तीन विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालुतर्फ आधार शिविर गएका थिए ।

मृत्यु भएका विदेशी पर्यटकको शव उठेन

विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि मकालु आधार शिविर पुगेका डेनमार्कका नागरिक थोर्वजन एडर्शनको शव चार दिन बित्दा पनि उठ्न सकेको छैन । गत शुक्रबार मकालु–२ मकालु आधार शिविरमा एडर्शनको मृत्यु भएको थियो ।

मृतक एडर्शनको शव कानूनी प्रक्रिया सकेपछि मात्र उठ्ने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077