Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

कार्तिक १० गतेदेखि कोरियामा कामदार पठाइने , पहिलो उडानमा ५० जना

काठमाडौं। नेपाली कामदारलाई वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा लामो समयपछि कामदार पठाउने काम सुरु गर्न लागिएको अधिकारीहरूले बताएका छन्।

पहिले काम गरेर फर्किएर आएका ५० जना कामदार कार्तिक १० गते जाने र त्यसपछि अरू कामदार क्रमशः पठाइने उनीहरूको भनाइ छ।

लामो समयपछि प्रक्रिया सुरु भएसँगै कोरिया जान पाउने आशा बढेको कोरिया जाने पर्खाइमा रहेका कामदारहरूले बताएका छन्। सन् २००८ देखिको सिलसिला
नेपाल र कोरिया सरकारबीच भएको श्रम सम्झौता अनुसार सन् २००८ देखि कोरियाले नेपाली कामदार लिँदै आएको छ।

सुरुवाती वर्षहरूमा २८ सय कामदार लगेको कोरियाले सन् २०११ देखि त्यो सङ्ख्या बढाउँदै गएको थियो।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर कामदार कोरिया जाने गरेकोमा २० महिना देखि कोरोनाभाइरस सङ्क्रमणका कारण कामदार जान पाएका छैनन्।

परीक्षा उत्तीर्ण गरेका र पहिले काम गरेर आइसकेका त्यस्ता कामदारले सङ्क्रमण घटेका बेला आफूहरूलाई पठाउने व्यवस्था नगरिएको भन्दै गुनासो गर्दै आएका छन्।सिधा उडानबाट आउनुपर्ने, क्वारन्टीनको खर्च बेहोर्नुपर्ने जस्ता सर्तहरूको प्रबन्धपछि अब कामदार पठाउने प्रक्रिया सुरु हुन लागेको अधिकारीहरूले बताएका छन्।

वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले कोरियाले ११९ जनाको नाम पठाएको र तीमध्ये कार्तिकको १० गते पहिलो उडानमा ५० जना पठाइने वताए । त्यसपछिको उडान कहिले हुन्छ भन्ने निश्चित भइसकेको छैन।

उनका अनुसार अहिले जान लागेका मानिसहरू भनेका पहिले कोरिया गएर फर्किएका कामदार हुन्। कोरियाले अरू नयाँ कामदार पनि तत्काल लैजान्छ वा पहिले काम गरेर फर्किएका लगिसकेपछि मात्रै अरूको सुरुवात हुन्छ भन्ने निष्कर्षमा अझै नपुगिएको पनि उनले बताए।

पहिले काम गरेर आइसकेका त्यस्ता कामदारको सङ्ख्या ३ हजारको हाराहारीमा रहेको अनि भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका कामदारको सङ्ख्या ७ हजारको हाराहारीमा रहेको बताइएको छ।

लामो समयदेखि सरकारलाई दबाव दिन सङ्घर्ष गर्दै आएका यस्ता कामदारहरूले पछिल्लो प्रगतिलाई सकारात्मक कदम भनेका छन्।

सङ्घर्ष समिति संयोजक समेत रहेका अजय सोडारीले भने, ूलामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि हामीमा एउटा खुसीको सञ्चार भएको छ। अवरुद्ध प्रक्रिया खुल्यो अब सुरुमा हाम्रा पहिले काम गरेर फर्किएका साथीहरू जाने भए पनि त्यो सँगसँगै अथवा केही समयपछाडि नयाँ कामदार पनि जाने बाटो खुल्छ भन्ने अपेक्षा राखेका छौँ।ू

कोरिया कामदार लैजानका लागि यस वर्षको परीक्षा हुने वा नहुने भन्नेमा अझै टुङ्गो नभएको अधिकारीहरूले बताएका छन्।

परीक्षाका लागि आवश्यक भौतिक पूर्वाधारको निर्माण जारी रहे पनि पहिले उत्तीर्ण गरेका कामदारलाई पठाएर मात्रै अर्को परीक्षा गर्दा सहज हुने उनीहरूको तर्क छ।

हालसम्म कोरियामा कामदारका रूपमा ६० हजार नेपाली गइसकेकोमा ३१ हजारको हाराहारीमा अहिले पनि कोरियामै रोजगारीमा रहेको बताइएको छ। - बिबिसी नेपाली

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077