काठमाडौं । कोरोना महामारीका कारण रोकिएको नेपाल–भारत संयुक्त सैनिक अभ्यास सुरु हुने भएको छ। करिब डेढ वर्षसम्म रोकिएको संयुक्त सैनिक अभ्यास असोज ४ बाट सुरु हुन लागेको बताइएको छ।
भारतको पिथौरागढमा असोज ४ देखि १७ सम्म हुन लागेको नेपाल–भारत १५ औं ‘सूर्यकिरण’ संयुक्त अभ्याससँगै लामो समयसम्म रोकिएको संयुक्त सैनिक अभ्यास चलायनमान हुने भएको छ।
यस्तो संयुक्त सैनिक अभ्यासमा सेनाहरुले सैनिक सम्पर्क वृद्धि गर्ने तथा सीप र कलाहरू आदानप्रदान गर्ने गर्दछन्। यसबाट उनीहरु आफ्नो देशको रक्षार्थ थप बलियो हुनेछन्। सैनिक प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलले कोभिड–१९ का कारण रोकिएका सैनिक अभ्यास, तालिम, सेमिनार र अन्य गतिविधिलाई अब अघि बढाउन लागेको जानकारी दिएका छन्।
भारतसँग संयुक्त सैनिक अभ्यासका लागि नेपाली टोली असोज २ मा पिथौरागढ पुग्ने भएको छ। सैनिक प्रवक्ता पौडेलका अनुसार भारतको उत्तराखण्डस्थित पिथौरागढमा हुन लागेको १५ औं सूर्यकिरण संस्करणमा दुवै मुलुकका तर्फबाट बटालियन स्तरको संयुक्त प्रशिक्षण हुनेछन् मुलुकअनुसार बटालियनको संख्या हुन्छ। नेपालबाट उक्त सैन्य अभ्यासका लागि हाल ३०० जना सेनाको बटालियन गएको छ।
नेपालले भारतसँगै चीन र अमेरिकासँग पनि संयुक्त सैनिक अभ्यासको तयारी गरेको छ। यस विषयमा ती देशहरुसँग छलफल भइरहेको बताइएको छ। सैनिक अभ्यासका लागि उनीहरु पनि तयार रहेको र अब छिट्टै मिति तय गरिनेछ।