काडमाडौं – भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित तराई सडक परियोजनाको भारत र नेपालले समीक्षा गरेको छ। नेपालको तराई क्षेत्रको सडक पूर्वाधारको सुदृढीकरण सम्बन्धमा चौथौं संयुक्त परियोजना अनुगमन समितिको बैठक आज भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ।
भारतका विदेश मन्त्रालयका उत्तरी महाशाखाका सहसचिव श्री अनुराग श्रीवास्तव र नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव श्री केशव कुमार शर्माको सह–अध्यक्षतामा उक्त बैठकको आयोजना गरिएको थियो।
उक्त बैठकले भारत सरकारको आर्थिक सहयोगमा नेपालमा निर्माण भइरहेको तराई सडक परियोजनाको समग्र कार्यान्वयनको समीक्षा गरेको थियो। १४ वटा सडक प्याकेजहरुमध्ये १३ वटा निर्माण सम्पन्न भइसकेकोले बैठकले परियोजनाले हासिल गरेको उपलब्धि उपर सन्तुष्टि व्यक्त गरेको थियो।
यस्तो छ भर्चुअल बैठकले जारी गरेको विज्ञप्ति :
प्रेस विज्ञप्ति
भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित तराई सडक परियोजनाको भारत र नेपालद्वारा समीक्षा
१. नेपालको तराई क्षेत्र को सडक पूर्वाधारको सुदृढीकरण सम्बन्धमा चौथौं संयुक्त परियोजना अनुगमन समितिको बैठक आज भिडियो कन्फरेन्समार्फत सम्पन्न भयो । भारतका विदेश मन्त्रालयका उत्तरी महाशाखाका सहसचिव श्री अनुराग श्रीवास्तव र नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव श्री केशव कुमार शर्माको सह–अध्यक्षतामा उक्त बैठकको आयोजना गरिएको थियो ।
२. उक्त बैठकले भारत सरकारको आर्थिक सहयोगमा नेपालमा निर्माण भइरहेको तराई सडक परियोजनाको समग्र कार्यान्वयनको समीक्षा गरेको थियो । १४ वटा सडक प्याकेजहरुमध्ये १३ वटा निर्माण सम्पन्न भइसकेकोले बैठकले परियोजनाले हासिल गरेको उपलब्धि उपर सन्तुष्टि व्यक्त गरेको थियो । दुवै पक्षले कोभिड महामारीले निम्त्याएको चुनौतीका बाबजुद पनि परियोजना सफलताका साथ अघि बढेको र निर्माण कार्यको अन्तिम चरणमा रहेको बताए ।
३. नेपालको तराई क्षेत्रमा कूल ३०६ किलोमिटर लम्बाई रहेको १० वटा सडकहरु ( १४ वटा प्याकेज/ठेक्कामा विभाजित) को निर्माण हेतु भारत सरकारले सन् २०१६ मा नेरु. ८०० करोड आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्घता व्यक्त गरेको थियो । यी सडकहरुले पूर्व–पश्चिम राजमार्गलाई भारतीय सीमासँग जोड्नुका साथै दुई देशका जनताको आवतजावतलाई सहज बनाउन मद्दत गर्नेछ । २०७७ चैत्र १८ गतेका दिन माननीय नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्री र नेपालका लागि भारतका राजदूतले संयुक्त रुपमा १४ मध्ये १३ वटा सडक प्याकेज नेपाली जनतालाई हस्तान्तरण गरिसकिएको दुवै पक्षले उल्लेख गरे ।
४. बैठकमा नेपाली पक्षले भारत सरकारले नेपालमा सडक सञ्जाल लगायतका पूर्वाधार विकासमा पु¥याएको निरन्तर सहयोगको सराहना गर्यो । भारत सरकारले पनि दुई देशबीच सम्पर्क बढाउन नेपाल सरकारसँग परिणाममुखी सहकार्य गर्न पाउँदा हर्ष व्यक्त गर्यो ।
५. बैठक सौहार्द वातावरणमा सम्पन्न भयो । समितिको अर्को बैठक दुवै पक्षलाई पायक पर्ने मितिमा आवश्यकता अनुरुप गर्ने सहमति भयो ।
काठमाडौं २०७८ भाद्र ३१