Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्वतमा पहिरो : सडकखण्ड अबरुद्ध हुँदा धौलागिरिका चार जिल्लामा इन्धनको अभाव

काठमाडौँ । पहिराका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध हुँदा साविकको धौलागिरिका चार जिल्लामा इन्धन र उपभोग्य वस्तुको अभाव हुन थालेको छ । लामो समय ढुवानी रोकिँदा पेट्रोलियम पदार्थ, फलफुल तथा तरकारीलगायतका सामग्रीको अभाव हुन थालेको हो ।

वैकल्पिक मार्ग नभएका कारण गत शुक्रबारदेखि डिजेल र पेट्रोल बोकेका ट्यांकर पर्वतको मोदी गाउँपालिका–५ पातीचौरमा रोकिएका छन् । लामो समयका लागि सञ्चित गर्ने व्यवस्था नहुने र बाहिरबाट ल्याउन रोकिँदा भएको सञ्चितीले नधान्ने व्यवसायी बताउँछन् । 'अझै १-२ दिन डिजेल मिलाएर वितरण गरे पुग्ला तर पेट्रोल सकियो', गण्डकी धौलागिरि पेट्रोलियम डिलर एसोसियसनका सदस्य हरिबाबु सापकोटाले भने, 'एकै पटक धेरै राख्दा पेट्रोलियम पदार्थ टिक्दैन, स्टोर नभएका कारण अभाव हुने देखिएको हो ।'

खाद्यान्नलगायतका अन्य सामग्रीमा भने समस्या नरहेको व्यवसायीहरुले बताएका छन् । सडक अवरुद्ध हुँदा उपचारका लागि पोखरा पुग्ने र अन्य काम विशेषले जानेहरु पर्वतको कार्कीनेटा हुँदै स्याङ्जाको बाटो आउजाउ गर्न थालेका छन् । बागलुङमा फलफुल र तरकारी बजारमा ठूलो मार परेको छ । पोखराबाट ल्याइने फलफुल र तरकारी सडकका कारण ढुवानी गर्न नसकिएको व्यवसायी मधु केसीले बताए । 'तीज नजिकिँदै तर मौज्दात छैन', केसीले भने, 'बजारमा स्याउ, केरा फाटफुटमात्रै देखिन थालेको छ ।'

स्थानीय उत्पादन कम हुने सिजन भएकाले धौलागिरिका बजार क्षेत्रमा तरकारीसमेत पोखराबाट आउने गरेको छ । सडक बन्द हुँदा स्थानीय उत्पादनले बजारको माग धान्न गाह्रो रहेको व्यवसायी कृष्णप्रसाद भट्टराईले बताए । 'पोखराबाट आउने बाटो धेरै दिन बन्द हुने देखियो, विकल्प छैन', उनले भने 'बुटवलबाट गलकोट हुँदै बागलुङ बजारमा फलफुल ल्याउने तयारीमा छौं ।'

घुमाउरो बाटोबाट ल्याइएका फलफुल तथा तरकारीबाट उपभोक्ता भने मारमा पर्ने छन् । अहिले बजारमा चलेको मूल्यभन्दा फलफुल तरकारीको मूल्य ढुवानीका कारण वृद्धि हुने उन बताए । चाडपर्वका बेला फलफुलको खोजी धेरै हुने भएकाले घुमाउरो बाटो भए पनि ढुवानी थालेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077