Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाँकेका एसपी अधिकारी छानविनमा तानिए , गौहत्याको अपराधमा मिलापत्र गराएको आरोप

काठमाडौं । काण्डै काण्डले चर्चा पाइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेमा असुलीको नयाँ घटनाले एसपी श्यामकृष्ण अधिकारी छानविनको दायरामा तानिएका छन्।

एसपी अधिकारीकै निर्देशनमा गौहत्या जस्तो अपराधमा संलग्न अभियुक्तलाई मुद्दा नचलाई छाडिएको प्रकरणमा प्रहरी प्रधान कार्यालयले छानविन प्रक्रिया अगाडि बढाएको स्रोतले वतायो ।

गत भदौ ३ गते राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ सिक्टामा ट्रकको ठक्करबाट चार वटा गाईको मृत्यु भएको थियो । तर, गौहत्या मुद्दा चल्ने भए पनि प्रहरीले मुद्दा नचलाई ट्रक चालकलाई आर्थिक लेनदेनका आधारमा छाडिदिएको थियो ।

लु २ ख ३५५ नम्बरको ट्रकको ठक्करबाट स्थानीय विष्णु खड्कासहित गाई र गोरुको मृत्यु भएको थियो । ट्रक चालक रुपन्देहीका सुव्रिभ भल्लाहलाई नियन्त्रणमा लिई प्रहरी चौकी अगैयामा स्थानिय बासिन्दाले बुझाएका थिए।

तर, चौकीका इन्चार्ज शरण भण्डारीले एसपी  अधिकारीको निर्देशनमा घटना भवितव्य भएको कुतर्क गरेर मुचुल्का बनाएका थिए । स्रोतका अनुसार गाई धनीलाई आर्थिक प्रभावमा पारेर  मिलापत्र गराइ चालकलाई छाडिएपछि एसपी अधिकारी छानविनमा परेका हुन।

बाँकेका एसपी  अधिकारी र डिएसपी मधुसुदन न्यौपाने समेतको मिलेमतोमा गौहत्या जस्तो गम्भीर मुद्दामा ट्रक चालकलाई छाडिएको प्रहरी स्रोतले नै दाबी गरेको छ। यसअघि काठ तस्करलाई छाडेको घटनामा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको थियो।

जिल्लामा आएलगत्तै एसपी  अधिकारीले राम्रो काम गर्ने बहानामा ११ जना घुमुवा हटाएका थिए ।

तर, उनीहरुलाई नै फेरि पैसा उठाउनका लागि खटाइएको छ । भारतसँग सीमा जोडिएकाले बाँकेमा विभिन्न आपराधिक गतिविधिदेखि गाई गोरुलगायतको तस्करी हुँदै आएको छ ।

सीमा नाकाबाट हुने चोरी, तस्करी नियन्त्रणभन्दा असुलीमा बाँकेका घुमुवा प्रहरीहरु केन्द्रीत हुने गरेका छन् । विगतदेखि नै बाँकेमा घुमुवा प्रहरीहरुको संरक्षण र हामिकको आडमा सीमा नाकाहरुमा तस्करी बढ्ने गरेको स्थानियहरुले वताउँदै आएका छन् ।

एसपी अधिकारी राष्ट्रिय अनुसन्धान बिभागबाट  आएका प्रहरी हुन। उनी जुन सरकार बनेपनि राजनीतिक नेतृत्वलाई हातमा लिएर महत्वपूर्ण ठाउँको इन्चार्ज खांदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077