काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको बिहीबार एक महिना पूरा भएको छ । यद्यपि सरकार गठन भएको एक महिना बितिसक्दासमेत अझै मन्त्रिमण्डलले पूर्णता पाउन भने सकेको छैन ।
यस अवधिमा प्रधानमन्त्री देउवाले चारजना मन्त्री र एक राज्यमन्त्री गरी पाँचजना मन्त्री नियुक्ति गर्नेबाहेक अन्य मन्त्री नियुक्त गर्न सकेका छैनन् । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेपनि महत्वपूर्ण मानिएको मन्त्रिमण्डलले भने पूर्णता पाउन सकेको छैन।
यसैबीच, सरकार गठन भएको एक महिना बितिसक्दा समेत मन्त्रिमण्डलले पूर्णता पाउन नसकेपछि प्रधानमन्त्री देउवाको चर्को आलोचना हुन थालेको छ । आलोचना गर्नेमा प्रमुख प्रतिपक्ष दलका नेताहरु रहेका छन्। उनीहरुले संसद बैठकदेखि सामाजिक सञ्जालमा यसबिषयलाई लिएर देउवाको चर्को आलोचना गरेका छन्।
यसैबीच, नेकपा एमालेका नेता विष्णु रिजालले परमादेशबाट देउवा प्रधानमन्त्रीमा नियुक्त भएको आज एक महिना पूरा हुँदासमेत मन्त्रिपरिषद र आफ्नो सचिवालय बनाउन किन नसकेको भन्दै प्रश्न गरेका छन्।
रिजालले पाँर्चौं पटक प्रधानमन्त्री भएका देउवा काम गर्न नसक्ने नेता त होइन भन्दै उनले लेखेका छन्–परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको आज एक महिना पुगेछ । पॉचौं पटक प्रधानमन्त्री हुनुभएका देउवा ‘काम गर्न’ नसक्ने नेता त होइन। मानिसका जीवित वा मृत टाउकाको लाख मूल्य तोक्नदेखि इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाउन र अरुका अनि आफ्नै समेत पार्टी फुटाएरै भए पनि सरकार बनाउन सक्षम नै हो । तर, यसपटक चाहिँ एक महिना बितिसक्दा समेत मन्त्रिपरिषद् र आफ्नो सचिवालय बनाउनबाट उहॉलाई केले रोकेको होला ? जिज्ञासा?’
https://twitter.com/bishnurijal1/status/1425994843789021185
यद्यपि उनी सम्मिलित दलका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा उनले कहिले कुनै प्रश्न सम्म गरेका थिएनन्, त्यसो त प्रतिपक्षमा बसेपछि सरकारको आलोचना गर्नुपर्छ भन्ने नेपाली प्रवृतिको ज्वलन्त उदाहरण यो मात्र होइन । आलोचना गर्नेमा नेता रिजाल मात्र होइन अन्य एमाले नेताहरुले समेत संसद बैठकदेखि लिएर सामाजिक संजालमा देउवाको सरकारलाई परमादेश सरकार भन्दै आलोचनाको वर्षा नै गरेका छन्। ओली निकट मानिने एमाले सांसद महेश बस्नेतले यो भन्दा अघिको संसद बैठकमा देउवा सरकारको आलोचनामा कविता नै बाचन गरेका थिए।
पछिल्लो समय मन्त्रिमण्डललाई पूर्णता दिन सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच दैनिकरूपमा वार्ता र छलफल हुने गरे पनि सहमति जुट्न सकेको छैन । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र मन्त्री बन्न हानाथाप शुरू भएपछि मन्त्रिमण्डल विस्तारमा ढिलाई हुँदै आएको हो।