Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आफू रहेसम्म बैधानिक, आफूले छाडेपछि भूमिगत ?

काठमाडौं । माओवादीकै नामबाट अहिलेको अवस्थामा आइपुगेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अहिले माओवादीकै उछितो काटिरहेका छन् । केही समय अघि मात्र माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरेका नेता रायमाझीले नेकपा माओवादी केन्द्र भूमिगत शैलीले चलिरहेको पार्टी भन्दै आरोप लगाएका छन् ।

शुक्रबार नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै परेको निवेदनका विषयमा बुझ्न अन्य नेतासहित निर्वाचन आयोगमा पुगेका नेता रायमाझीले माओवादी केन्द्र संविधान, कानून र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचली भूमिगत शैलीमा चलेको आरोप लगाए ।

२९ वर्षदेखि उक्त पार्टीमा महाधिवेशन नभएको भए पनि २०६९ सालमा नाम मात्रैको महाधिवेशन भएको र त्यसपछि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको उनको जिकिर छ ।

उनले भने–‘माओवादी केन्द्र नेपालको संविधान, कानून र राजनीतिक दल सम्बन्धी ऐन अनुसार चलिरहेको छैन । एकप्रकारले भन्ने हो भने भुमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ । २८–२९ वर्षसम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो २०६९ सालमा नाम मात्रैको । त्यसपछि ९ वर्षसम्म अर्को महाधिवेशन गरेको छैन ।’

हुनत रायमाझीले माओवादी छोडेको (नेकपा हुँदाको बाहेक) १ वर्ष पनि पुगेको छैन । उनी माओवादीमै हुँदा चाहिं माओवादी केन्द्र बैधानिक पार्टी थियो, अहिले चाहिं अवैधाननिक भयो । रायमाझीको अहिलेको प्रतिक्रियाले यहि प्रष्ट पार्छ ।

माओवादी केन्द्रका पूर्व नेता समेत रहेका रायमाझीले अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गरेको दाबी गर्न पनि भ्याए । उनले भने–‘संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, जनताबाट प्रत्यक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गर्ने ?’

पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’, रायमाझी, मणि थापा, प्रभु साह लगायत नेताहरु सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले विघटन भई एमाले र माओवादी केन्द्र पुनःस्थापित भएपछि एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेध गरेका उनीहरुलाई माओवादी केन्द्रले कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077