Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • निगमलाई टाट पल्टाउन डिमप्रकाश नै सक्रिय, कर्मचारीको भत्ता खोसेर आफ्नो तलब ३०० प्रतिशत बढाए !

    निगमलाई टाट पल्टाउन डिमप्रकाश नै सक्रिय, कर्मचारीको भत्ता खोसेर आफ्नो तलब ३०० प्रतिशत बढाए !

    अनलाइन नेपाल
  • आइतबार, २० असार २०७८
  • 4.5K
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा निगमलाई गोप्य रुपमा निजीकरण गर्ने प्रयासमा लागेका महाप्रबन्धक डिमप्रकाश पौडेलले कर्मचारीहरुको भत्ता खोसेर आफ्नो तलब बृद्धि गरेको समेत खुलेको छ ।

    निगमका तीन वटा कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गरी पौडेलले निगमलाई निजीकरण गराउन खोजेको र कर्मचारीको भत्ता खोसेर आफ्नो तलब बृद्धि गर्न लागेको आरोप लगाएका हुन् ।



    कर्मचारी संगठनहरुले स्थापना कालदेखिनै नाफामा सञ्चालित रहदै आएको र नेपाल सरकारको पूर्ण स्वामित्वमा भएको अविछिन्न स्वायत्त संस्थामा विगत केही बर्षदेखिको व्यवस्थापकिय असक्षमता र हवाई माफियाको इसारामा निगमलाई धरासायि बनाउने काम भइरहेकोप्रति पनि गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।



    निगमको उक्त निर्णयकोविरुद्धमा निगमका न्यायप्रेमी कर्मचारीहरुका साथमा जस्तोसुकै बलिदानी कदम चाल्न यस संयुक्त ट्रेड युनियनहरु वाध्य हुने भन्दै उनीहरुले चेतावनी शैलीमा विज्ञप्ति जारी गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ–‘निगमका भरहेको संगठनात्मक संरचना (O & M) लाई मनोमानी तरीकाले कटौति गरी निगमको व्यापार क्षेत्र समेत संकुचित बनाई बन्दको स्थितिमा पुऱ्याउने तथा निगममा आर्थिक संकटको वहानामा निगमको वाह्य स्टेशनमा कार्यरत कर्मचारीहरुको भत्ता कटाई महाप्रबन्धकको तलब ३०० प्रतिशतभन्दा बढी वृद्धि गर्ने कामबाट निगम कर्मचारीको मनोवल घटाउने काम समेत गरी निगम सञ्चालक समितिले हालै नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्नको निम्ति कम्पनी प्रबन्ध पत्र बनाई नेपाल सरकारलाई बुझाईएको कुरा सुनिनमा आएको हुँदा यस निगममा क्रियाशिल तीनै संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।’

    स्रोतका अनुसार पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा निगमलाई गोप्य रुपमा निजीकरण गर्ने तयारी थालेका हुन। जुन कुरा गोप्य थाहा पाएपछि ट्रेड युनियनहरुले यस अघि महाप्रबन्धक पौडेलको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

    लकडाउनको समयमा निगमका महाप्रबन्धक पौडेलले विदेशी र स्वदेशी पर्यटन ब्यवसायीलाई निगमको ४९ प्रतिशत सेयर बिक्री गर्ने तयारी गरेको थाहा पाएपछि ट्रेड युनियनहरुले शुक्रबार महाप्रबन्धकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

    महाप्रबन्धक पौडेलले निषेधाज्ञाका बीचमा निगमको प्रबन्धपत्र र नियमावली सञ्चालक समितिबाट अनुमोदन गराई अन्तिम निर्णयका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको बिषय कर्मचारीहरुले हालैमात्र थाहा पाएका थिए ।

    निगमको चलअलच गरी ५० अर्बरुपैयाँको सम्पत्ति मूल्यांकन गरी त्यसबाट ४९ प्रतिशत सेयर बेच्ने गरी प्रक्रिया अगाडि बढाइएको छ । निगम सञ्चालक समितिको असार १४ मा बसेको बैठकले ३० प्रतिशत विदेशी कम्पनी, १४ प्रतिशत नेपाली हवाई सेवा र ५ प्रतिशत निगमका वर्तमान र पूर्वकर्मचारीलाई सेयर बेचेर निजीकरण गर्ने निर्णय गरेको छ ।

    यद्यपी निगमका महाप्रबन्धक पौडेलले भने कम्पनी निजीकरण गर्न लागिएको कुरा अस्वीकार गरेका छन् ।

    कर्मचारी संगठनद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ–‘अतः विगतको निर्णय मिति २०७६।११।०८ को दिन नेपाल वायुसेवा निगम, संचालक समितिद्धारा निगम ऐन २०१९ को भावना र मर्म विपरित क्षेत्राधिकारलाई समेत ख्याल नगरी निगमलाई कम्पनिको रुपमा सञ्चालन गर्न सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने भनि गरिएको निर्णयको मसी सुक्न नपाई निगमलाई फेरी पनि निगम सञ्चालक समितिको अध्यक्ष वहाल नभएको अवस्थामा अत्यन्त खेदजनक, अदुरदर्शि र पूर्ण सरकारी स्वामित्वको सार्वजनिक संस्थालाई नीजिकरण गर्ने निर्णय बदनियत स्वरुप भएको हो भनि यस निगममा क्रियाशिल तीनै संगठनहरुको बैठक बसी ठहर गरेको छ।

    अतः यस निगमलाई कम्पनीकरण गर्ने निर्णयकोविरुद्धमा निगमका न्यायप्रेमी कर्मचारीहरुका साथमा जस्तोसुकै बलिदानी कदम चाल्न यस संयुक्त ट्रेड युनियनहरु वाध्य हुने जानकारी गराउँदै उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी निगम व्यवस्थापन र संचालक समिति हुने व्यहोरा समेत अवगत गराउदछौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार