Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महेश बस्नेतलाई निषेधाज्ञा नलाग्ने, गणेश लामालाई चाहिं उल्लंघनको आरोप ?

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएकै दिन हिजो अर्थात विहिबार नेपाली कांग्रेसका युवा नेता एवम् काभ्रे जिल्लाका प्रदेश सभा उम्मेदवार समेत रहेका गणेश लामा पोखराबाट पक्राउ परे । लामा पक्राउ पर्नुमा सत्तापक्षको चलखेल देखिएपनि निषेशधाज्ञाको समयमा हिंडडुल गरेको भन्दै कास्की प्रहरीले लामालाई नियन्त्रणमा लिएको हो ।

कुनै बेला गुण्डा नाइकेको छवी बनाएका लामालाई हिजो भने बिना कारण होटलमा बसिरहेका बेला प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । लामालाई पक्राउ गर्ने वडा प्रहरी कार्यालयकी प्रमुख डीएसपी चिनु तामाङले माथिको आदेशका कारण पक्राउ गरिएको स्वीकार गरिसकेकी छन् ।

त्यसो त लामा पक्राउ परेलगत्तै कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले निषेधाज्ञाका बेला किन पोखरा आएको भनेर सोधपुछका लागि नियन्त्रणमा लिइएको बताएका थिए । उनले हिजो भनेका थिए–‘अरु कुनै विषय होइन, यो निषेधाज्ञा उल्लंघन भयो कि भन्ने हो ।’ तर, पहिलो निषेधाज्ञापछिको २ वर्षको अवधिमा प्रहरीले हिजोका दिनसम्म निषेधाज्ञा उल्लंघन गर्ने कोही कसैलाई पनि पक्राउ गरेर हिरासतमा राखेको रेकर्ड छैन । लामालाई चांहि किन पक्राउ गरियो ? गम्भिर प्रश्न खडा भएको छ ।

अर्कोतिर एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका ‘राइट ह्याण्ड’ मानिएका भक्तपुरका सांसद महेश बस्नेतले ओलीको सत्ता जोगाउनकै लागि जनता समाजवादी पार्टी (जसपा) का नेताहरुलाई निषेधाज्ञाकै समयमा भक्तपुरको एक रिसोर्टमा लगेर भोज गराउँदा भने नेपाल प्रहरीले निषेधाज्ञा उल्लंघन भएको देखेन । बस्नेतले बैशाख ३० गते जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरुलाई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित सिपाडोलमा रहेको डोलेश्वर भिलेज रिसोर्टमा लगेर भोज खुवाएका थिए । जसको परिणम अहिले देखिसकेको छ ।

अध्यक्ष ठाकुरले ३० गते बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहल बोलाएर १३ जना संसदहरुलाई बस्नेतकै आग्रहमा डोलेश्वर पुर्याएको सोहि दिन नै खुलिसकेको थियो । निषेधाज्ञा उल्लंघन गरेर भए पनि ओलीको सत्ता टिकाउन महत्वपूर्ण भूमिका निभाएका बस्नेत पछिल्लो समय गृहमन्त्री बन्ने दाउमा लागेका थिए । तर, खगराज अधिकारीले मन्त्री पद उछिट्याएपछि अहिले भने उनले ओलीप्रति असन्तुष्टि पोखेका छन् ।

यसरी सत्तापक्षका सांसदले दर्जनौ जम्मा गरेर भोज गरेको नदेख्ने नेपाल प्रहरीले गणेश लामालाई भने होटलमा बसिरहेकै बेला निषेधाज्ञा उल्लंघन भयो भने पक्राउ गर्नु कत्तिको उचित हो ? त्यो भने समयले नै मूल्यांकन गर्ला । लामालाई पक्राउपछि गण्डकी प्रदेशका डिआईजी घनश्याम अर्याल र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठमाथि पनि प्रश्न चिन्ह उठेको छ ।

कांग्रेसको चेतावनी
नेपाली कांग्रेस कास्कीले आफ्नो पार्टीका नेता गणेश लामालाई विनासर्त तत्काल रिहा गर्न माग गर्दै सत्ताको दुरुपयोग गर्नेलाई उचित समयमा दण्डित गरिने चेतावनी दिएको छ । काांग्रेस काभ्रेका सभापति मधु आचार्यले बिना कारण सत्ताको दुरुपयोग गरी लामाको पक्राउ गरिएको र निशर्त नछाडे आन्दोलन गर्ने चेतावनी दिएका छन्। ‘ओली सरकारले नियतबस काभ्रे–१ ख का उम्मेदवार बनिसकेका लामालाई पक्राउ गरेको छ, शान्तिपूर्ण अवस्थामा रहेका व्यक्तिलाई यसरी नियत राखेर पक्राउ गर्नु लोकतान्त्रिक मुल्य र मान्यताको धज्जी उडाउनु हो’, आचार्यले भनेका छन् । लामालाई नछाडे आज कांग्रेस कास्कीले निषेधाज्ञा उल्लंघन गरी प्रहरीविरुद्ध प्रदर्शन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077