Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फोरजी काण्डपछि टेलिकममा १२ करोड भ्रष्टाचार, प्रवन्ध निर्देशक अधिकारीकै मिलेमतो

काठमाडौं । फोरजी विस्तारको ठेक्कामा चीनको हुवावे कम्पनीसँग मिलेर १२ अर्ब बढि मूल्यमा काम गरी राज्यलाई घाटा पु-याएको नेपाल टेलिकमले फेरि अर्को एक टेण्डरमा पनि १२ करोड रुपैयाँ घोटला गर्न खोजेको छ ।

टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीकै मिलेमतोमा ठेक्कामा चलखेल भएको हो । २० करोड (१६ लाख ५० हजार डलर) मा गर्न सकिने गरी गरिएको प्रस्तावलाई छाडेर ३२ करोड (२६ लाख ७० हजार अमेरिकी डलर) प्रस्ताव पेश गर्ने कम्पनीलाई छनौटको आशयपत्र (एलओआई) दिएपछि अधिकारीको संलग्नता बाहिर आएको छ ।

अधिकारीकै मिलेमतोमा कम मूल्य प्रस्ताव गरेको कम्पनीलाई फेल गराएर बढी मूल्य पेश गरेको चिनियाँ कम्पनीलाई छनौट गरिएको छ । नेपाल टेलिकमले क्लाउड प्लेटफर्म, बिग डाटा वायरहाउस एण्ड एनालाइटिक्ससम्बन्धी सामानको आपूर्ति गर्ने, ढुवानी गर्ने र त्यसलाई ल्याएर इन्स्टलेसन गर्न एक वर्ष अघि नै टेण्डर आब्हान गरेको थियो ।

यसमा नेपाली वा विदेशी कुनै पनि कम्पनीलाई प्रस्तावका लागि खुल्ला आब्हान गरिएको भएपनि नेपाली कम्पनीलाई भने प्राविधिक मूल्यांकन नपुगेको भन्दै प्रवेश नै गर्न दिइएन ।
नेपाल टेलिकमले गत वर्ष नै टेण्डर आब्हान गरेपनि कमिसनमा कुरा नमिलेपछि पटक–पटक समय लम्ब्याउँदै बढि मूल्य पेश गर्ने कम्पनीलाई टेण्डरको आशयपत्र दिएको हो ।

टेलिकमले आह्वान गरेको सो टेन्डरमा ९ वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए । जसमध्ये ५ वटा चिनियाँसहित ७ वटा विदेशी, एउटा भारतीय र नेपालीको संयुक्त र अयोग्य ठह¥याएको नेपाली कम्पनी सूर्या इन्टरप्राइजेज गरी ९ वटा कम्पनीले टेण्डरमा प्रस्ताव पेश गरेका थिए ।
आठवटा कम्पनीमध्ये चीनको इन्सपुर सफ्टवेयर ग्रुपले सबैभन्दा कम लागत अर्थात १६ लाख ५० हजार अमेरिकी डलरको प्रस्ताव पेश गरेको थियो । त्यस्तै, चीनकै बेइजिङ युइएन टेक्नोलोजीले १८ लाख १० हजार, एशिया इन्फो इन्भोटेसन टेक्नोलोजी कन्सोर्टियमले २६ लाख ७० हजार तथा चाइना मोबाइलले २६ लाख ७० हजार अमेरिकी डलर बराबरको लागत प्रस्ताव गरेका थिए ।

भारतीय कम्पनी स्टेरलाइट टेक्नोलोजीले २८ लाख ५० हजार, श्रीलंकाको लङ्का बेलले ५० लाख, ओबीसीएन र एभीआईभीए कन्सोर्टियमले ६५ लाख तथा चीनकै अर्को कम्पनी हवाले क्लाउड टेक्नोलोजीले १ करोड अमेरिकी डलरमा आर्थिक प्रस्ताव पेश गरेका थिए ।

तर, टेलिकमको मूल्यांकन समितिले १६ लाख ५० हजार अमेरिकी डलर प्रस्ताव पेश गर्ने इस्पुर सफ्टवेर ग्रुपलाई नदिई प्रवन्ध निर्देशक अधिकारीको दबाबमा २६ लाख ७० हजार प्रस्ताव पेश गर्ने चाइना मोबाइलाई आशय पत्र दिइएको छ ।

सार्वजनिक खरिद नियामावलीको विपरित यसरी बढि मूल्य प्रस्ताव पेश गर्ने कम्पनीलाई आशयपत्र दिएपछि टेण्डरमा भाग लिएका अन्य कम्पनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहार्न लागेका छन् ।

अधिकारीको मिलेमतोमा टेलिकमले १२ करोड रुपैयाँ भन्दा बढी व्ययभार पर्नेगरी बढी लागतसहितको बोलपत्र पेश गर्ने कम्पनीलाई साउन ११ गते छनौटको आशयपत्र दिएको हो ।

स्रोतका अनुसार अधिकारीले मूल्यांकन समितिकी संयोजक सविना प्रधानलाई दबाब दिन लगाई कम मूल्य पेश गर्ने कम्पनीको प्राविधिक मूल्यांकन नै फेल गराएका छन् । यसबारेमा अधिकारीसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। (यूनाइटेड पोस्ट साप्ताहिक )

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077