Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म्याग्दीमा पहिरोकाे वितण्डा: निधन हुनेकाे संख्‍या २७ पुग्यो

म्याग्दी । म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर निधन हुनेको संख्या २७ जना पुगेको छ । प्रहरीका अनुसार बेपत्ता भएका तीन जना जीवितै सम्पर्कमा आएका छन् । चार जना अझै बेपत्ता छन् ।

धवलागिरि–६ मराङका १८, मालिका–७ बिमका ८ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको शव भेटिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए । उनका अनुसार धवलागिरि–६ मराङका तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशीष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, प्रकाश केसी, हिरामती जुग्जाली, करिष्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली र दिवान जुग्जालीको मृत्यु भएको छ ।

मालिका–७ बिमकी विष्णु पौडेल, इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, निशा नेपाली, विष्णु नेपाली र सन्दीप नेपालीको पनि पहिरामा पुरिएर मृत्यु भएको छ । लापु खोलाले बगाएर रघुगंगा–६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको थियो ।

मराङको रिखको पहिरामा बेपत्ता भएका ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीय रितुकुमारी जुग्जाली, अर्जुन जुग्जाली जीवितै सम्पर्कमा आएका छन् । पहिराले पुरिएका मालिका–७ बिमकी एलिसा केसी, धवलागिरि–६ कल्लेनीकी जनिमा केसी, सबिन पुन र दुखु खोलामा बेपत्ता भएकी मालिका–६ की गीता रोका भेटिएका छैनन् ।

प्रहरीका अनुसार पहिराका जोखिममा रहेका धवलागिरि गाउँपालिकाका ५९०, मालिकाका १९६, रघुगङ्गाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । पहिरामा घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएकामा सात जनाको बेनी अस्पताल, एक जनाको काठमाडाैं र चार जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077