Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संगठन विस्तारमा काम नगरेको भन्दै नेविसंघकाे नेतृत्वप्रति देउवा आक्रोशित

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संगठन विस्तारमा काम नगरेको भन्दै नेविसंघ नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसंघ नेतृत्वप्रति आक्रोश व्यक्त गरेका हुन् ।

गाउँगाउँमा, स्कुल–स्कुलमा संगठन विस्तार नगरी काठमाडौंमा भाषण गरेर बस्ने प्रवृतिले नेविसंघ कमजोर बनेको भन्दै उनले नेतृत्वप्रति आक्रोश व्यक्त गरे । अहिले कतै पनि नेविसंघ नरहेको र कुनै पनि स्कुलमा जित्ने हैसियत नेविसंघसँग नभएको उनले बताए । पहिला गाउँ र स्कुलमा गएर संगठन विस्तार गरेर मात्र आफूसँग कुरा गर्न आउन उनले विद्यार्थी नेताहरुलाई निर्देशन दिएका छन् ।

नेविसंघले संगठन विस्तारमा ध्यान नदिएकै कारणले कम्युनिष्टहरुले चुनाव जितेको दाबी गर्दै देउवाले भने, ‘स्कुलमा नेविसंघ बनाउँदै बनाउँदैन् । अनि हारेको हार्‍यै छ । सबै ठाउँमा कहाँबाट कम्युनिष्टले जित्यो यहाँ ? कसरी जिते कम्युनिष्टहरु ? उनीहरुले गाउँगाउँमा संगठन बनाए । काठमाडौंमा आएर बढ्ता–बढ्ता भाषण गरेर केही हुनेवाला छैन । गाउँमा जाउ गाउँमा । गाउँमा बनाउ, गाउँको स्कुलमा बनाउ नेविसंघ अनि मात्र झगडा गर्न आउ । केही नगर्ने मसित कुरा गर्ने ?’

कांग्रेस सभापति देउवाले अहिले नेविसंघभित्र देखिएको विवाद केही पनि नभएको र दुई पक्षबीच कुरा गरी समस्याको समाधान निकालिने पनि बताए । विद्यार्थीहरु आपसमा मिल्न नसक्नु नै मुख्य समस्या भएको उनको भनाई थियो । आफू अहिलेसम्म चारपल्ट प्रधानमन्त्री भएको तर अहिलेको कोही पनि विद्यार्थी नेताहरु भविष्यमा प्रधानमन्त्री बन्ने लायकको नभएको भन्दै लाज मान्नुपर्ने अवस्था आएको देउवाले बताए । उनले भने ‘अहिलेको कुरा केही होइन सबैकुरा मिल्छ । नेविसंघको पूर्णता हुन्छ । नेपाली कांग्रेसको अधिवेशनको काम भइरहको हुन्छ । त्यस कारणले दुई साइडको कुरा हुँदै गर्छ । हाम्रा केही समस्याहरु छन् । बहिर जाँदैन । विद्यार्थीहरु आपसमा मिल्या भए समस्यै हुन्थेन नि । आफूहरु झगडा गर्‍यागर्‍यै छन् । म पनि नेविसंघको सभापति भएको हुँ । चार पटक प्रधानमन्त्री भइसकेँ । तपाईंहरु कोही हुन सक्नुहुन्छ भोलि ? यस्तै हिसाबले लाज पनि छैन यहाँ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077