काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछाने मुछिएको कास्कीको सूर्यदर्शन सहकारीको ठगी अनुसन्धानमा प्रहरीले चलखेल गरेको भेटिएको छ । सहकारी ठगीको रकमबाट खरिद गरिएका जग्गा समेत जोगाएर मुद्दा दायर गरिएको छ । जसले सहकारी पीडितको पैसा नउठ्ने जोखिम बढेको छ ।
ठगीका नाइके गितेन्द्रबाबु (जिबी) राईले ललितपुरको भैंसेपाटीमा २३ रोपनी सात आना जग्गा खरिद गरेका थिए । आफुविरुद्ध उजुरी पर्न थालेपछि केही पैसा लिएर हतार हतार सो जग्गा चेनी क्यापिटल नामक कम्पनीको नाममा लगिएको थियो । तर, प्रहरीले सो जग्गा जफतको मागदाबी लिएको छैन । जबकी चितवन प्रहरीले एक वर्षअघि नै सो जग्गा रोक्का राखेको थियो ।
चेनी क्यापिटलमाथि कास्की प्रहरीले अनुसन्धान गरेको छ तर चलखेलको आधारमा सो कम्पनी र कम्पनीका सञ्चालकलाई उन्मुक्ति दिएपछि प्रश्न उठेको छ ।
चेनी क्यापिटलका सञ्चालकमा चेतनाथ भण्डारी, पवन कुमार शाह र कुमार रम्तेल छन् । भण्डारी बाजेको सेकुवा रेष्टुरेन्टका मालिक हुन् । उनीहरुसँग कास्की प्रहरीले कागज गराएकोमा साक्षी बनाएर मुद्दा दायर गरेको छ । जबकी रम्तेल सो सहकारी ठगीका मुख्य आरोपी हुन्। हाल उनी थुनामा छन् ।
कास्की प्रहरीले चेतनाथ र पवनकुमारसँग कागज समेत गरेको थियो । जसमा सो कम्पनीमा रम्तेलको ३० प्रतिशत शेयर कसरी भयो भन्नेमा प्रश्न सोध्दा भण्डारीले प्रष्ट जवाफ दिन सकेका छैनन् ।
एकपटक प्लटिङका लागि बाटो बनाइदिने सर्तमा भनेका छन् अर्को पटक डेढ करोड दिएर शेयर लिएको भनेका छन् । अर्कोतर्फ उनले जिबीसँग एकपटक एक करोड रुपैयाँ समेत लिएको देखिन्छ । त्यसको स्रोत उनले खुलाउन सकेका छैनन् ।
भैंसेपाटीको सो जग्गाको बजार मुल्य डेढ अर्ब भन्दा धेरै छ । तर, उनीहरुले मालपोतबाट २५ करोड ९० लाखमा खरिद गरेको देखाएका छन्। भैंसेपाटी जस्तो ठाउँमा आनाको सात लाखका दरले जग्गा खरिद गरेको भनेर झुक्याइको छ । खासमा जिबीको सम्पत्ति लुकाउन मात्र उनीहरुले सहयोग गरेको स्रोत बताउँछ ।
अर्बको सम्पत्ति भएकाले त्यसलाई जोगाउन उच्च तहको चलखेल चलेको थियो । त्यही कारण सो जग्गा जफतको दाबी नै नलिएको स्रोत बताउँछ ।
जबकी रवि लामिछाने तथा छविलाल जोशीको हकमा भने उनीहरुका श्रीमतीको नाममा रहेका पुर्ख्यौली जग्गा समेत जफतको लागि मागदाबी लिइएको छ । यो प्रकरणले प्रहरी अनुसन्धानमाथि गम्भीर प्रश्न उठेको छ ।
सहकारी ठगीको रकमबाट २०७९ भदौ १ गते खरिद गरेको उक्त जग्गा १५ दिनपछि भदौ १५ गते हिमालयन बैंक न्यूरोड शाखामा धितो राखी १६ करोड ८० लाख रुपैयाँ ऋण लिइएको छ । १२ करोड ५० लाखमा २३ रोपनी ७ आना जग्गा खरिद गरेको र पूरै जग्गा धितो नराखी ३ रोपनी धितो राखेर १६ करोड ८० लाख कर्जा लिइएको छ ।
१२ करोड ८० लाखमा २३ रोपनी ७ आना जग्गा सस्तोमा पाएँ भनेर खरिद गरेका साह र भण्डारीले सिधै सहकारी पीडितलाई ठगी गर्न खोजेको देखिन्छ । पीडितहरुले समेत २२ माघ २०८० मा दिएको पूरक जाहेरीमा चेनी क्यापिटलको नाम समेत उल्लेख गरेका थिए।
नेपालमा बिटुमिनको काम गर्ने र भन्सारमा क्लीयरिङ गर्ने धन्दामा सक्रिय पवनकुमार साह नेपाल र भारतको दोहोरो नागरिकताधारी हुन् ।
बिहार घर भएका साहले रौतहटको चन्द्रनिगाहापुरबाट बंशजका आधारमा कसरी नेपाली नागरिकता लिए ? प्रहरीले यसबारेमा समेत अनुसन्धान गर्नुपर्ने देखिन्छ ।
प्रहरीले खोज्दै जाँदा नक्कली बाबु बनाएर नागरिकता लिएको बिषयमा पनि अनुसन्धान हुने भएपछि साह सम्पर्कबिहीन बनेका थिए ।
बाजेको सेकुवाका भण्डारी ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा समेत मुछिएका पात्र हुन् । उनीहरुले प्रहरीमा सेटिङ मिलाएर बयान दिएको स्रोत बताउँछ ।
Leave a Reply