Online Nepal
  • शुक्रबार, २१ मंसिर २०८१
  • महालक्ष्मी बैंकको १६ करोड कर्जा जोखिममा, मुद्दा चल्दाचल्दै कसरी बिक्री भयो जग्गा ?

    महालक्ष्मी बैंकको १६ करोड कर्जा जोखिममा, मुद्दा चल्दाचल्दै कसरी बिक्री भयो जग्गा ?

    अनलाइन नेपाल
  • बुधबार, १२ मंसिर २०८१
  • 14.3K
    SHARES

    काठमाडौं । महालक्ष्मी विकास बैंकले नियम विपरित एक कम्पनीलाई करोडौं ऋण प्रवाह गरेको पाइएको छ । बैंकले सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा ललितपुरको सानेपास्थित इन्टरनेशनल क्लवको नाममा रहेको विवादास्पद तीन रोपनी साता आना एक पैसा जग्गा धितो राखी १६ करोड ऋण दिएको हो । जुन ऋण अहिले जोखिममा परेको हो ।

    उक्त जग्गा बैंकिङ माफियाका रुपमा चिनिएका एनबी समूहका पूर्व अध्यक्ष तथा काठमाडौं रिक्रिएसन सेन्टरका सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठबाट कुमारी विल्डर्स एण्ड डेभलभमेन्ट प्रालि हुँदै इन्टरनेशन क्लव प्रालिको नाममा आएको खुलेको छ ।



    नविल बैंकसहित केही बैंकहरुबाट कर्जा लिई दुरुपयोग गरेर ऋण समेत भुक्तानी नगरेको हुँदा कुमारी विल्डर्स कालोसूचीमा छ । उक्त जग्गा सुरुदेखि नै बैंक ठगी गर्ने उद्देश्यले खरिद गरिएको र त्यसका लागि काठमाडौं रिक्रिएसन सेन्टरका सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठले रविन्द्र बहादुर सिंह सञ्चालक रहेको कुमारी विल्डर्सलाई बिक्री गरेका थिए ।



    ठगी गर्न योजनावद्ध रुपमा तत्कालिन एनसीसी बैंकबाट शुरुमै रविन्द्र बहादुर सिंहको नामबाट ऋण लिइएको थियो । उनले ऋण तिरेको प्रमाण अहिलेसम्म भेटिएको छैन ।

    त्यसपछि रामेश्वरप्रसाद श्रेष्ठका छोरा नविन श्रेष्ठको नाममा बैंकका कर्मचारीहरुको मिलेमतोमा कम्पनीले ऋण दिएको आठ महिनापछि कम्पनीको शत प्रतिशत सेयर नविन श्रेष्ठको नाममा सारिएको थियो ।

    बैंकले ऋण प्रवाह गर्दा कम्पनीका सञ्चालक थिए, रविन्द्रबहादुर सिंह । त्यसपछि कम्पनीको शत प्रतिशत सेयर नविन श्रेष्ठको नाममा नामसारी गरिएपनि सरोकार नभएका व्यक्ति रामेश्वरप्रसाद श्रेष्ठसँग २०७१ बैशाख २१ मा तत्कालिन एनसीसी बैंकले ऋण भुक्तानी सम्बन्धि सम्झौता गरेको थियो ।

    यसैमा बैंकका उच्च पदस्थ कर्मचारीहरुको मिलेमतो रहेको खुलेको थियो । एनसीसी बैंक कुमारी बैंकसँग मर्ज भइसकेपछि कर्जाको दायित्व वहन नगरेका कारण बैंकले लिलामी प्रकृया थाल्यो ।

    कुमारी बैंकले आफ्नो नाममा आइसकेको जग्गा पुनः विवादास्पद कुमारी विल्डर्स एण्ड डेभलभमेन्ट प्रालिलाई सकार्न लगायो । त्यसपछि अदालतमा मुद्दा पर्यो । उक्त जग्गाको मुद्दा ललितपुर जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्चमा विचाराधिन अवस्थामा छ ।

    सर्वोच्चमा विचाराधिन रहेकै बेला उक्त तीन रोपनी सात आना एक पैसा जग्गा २०८० फागुन २ गते २२ लाख ६५ हजार ६०० रुपैयाँ प्रति आनाका दरले १२ करोड ५१ लाख ७५ हजार मुल्य कायम गरी कुमारी विल्डर्सको नाममा नामसारी गरिएको थियो । त्यसपछि एक महिना नवित्दै पुनः २०८० चैत १६ गते उक्त जग्गामध्येको २ रोपनी १३ आना १ पैसा जग्गा प्रति आना ५० लाख ७७ हजारका दरले २२ करोड ७५ लाख कायम गरी इन्टरनेशनल क्लव प्रालिको नाममा नामसारी गरिएको समेत खुलेको छ ।

    उक्त जग्गा खरिद गर्नका लागि भनि महालक्ष्मी विकास बैंकबाट इन्टरनेशनल क्लवका सञ्चालक एलसन श्रेष्ठको नाममा १६ करोड कर्जा स्वीकृत गराई विभिन्न व्यक्तिहरुको नाममा रकमान्तर गरी कर्जा दुरुपयोग गरिएको समेत खुलेको छ ।

    कर्जा प्रवाहमा महालक्ष्मी बैंकका उच्च पदस्थ कर्मचारीहरुकै मिलेमतो रहेको स्रोत बताउँछ । ठूलो कमिसनको लोभमा कर्जा प्रवाह भएको समेत स्रोतको दावी छ ।

    अदालतबाट मुद्दाको किनारा नलाग्दै कुमारी बैंकले कुमारी विल्डर्सका नाममा जग्गा सकार्न लगाई पुनः महालक्ष्मी बैंकबाट १६ करोड ऋण दिएका कारण बैंक ठगी गर्ने उद्देश्यले जग्गाको खरिद बिक्री भएको पुष्टि हुन्छ ।

    विवादास्पद जग्गाको विषयमा उजुरी परेपछि राष्ट्र बैंकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई अनुसन्धानका लागि पत्राचार गर्ने तयारी गरेको राष्ट्र बैंक स्रोतको भनाई छ ।

    राष्ट्र बैंक स्रोतका अनुसार उक्त जग्गा एक महिना नवित्दै आनाको दोब्बर भन्दा बढी मूल्यांकन गरी ऋण लिएर योजनावद्ध तरिकाले ठगी गरिएको खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार