Online Nepal
  • शुक्रबार, २१ मंसिर २०८१
  • एमाले सांसद भट्टचनले करोडौं अपचलन गरी ऋणभार बोकाएको भन्दै सीआईबीमा उजुरी

    एमाले सांसद भट्टचनले करोडौं अपचलन गरी ऋणभार बोकाएको भन्दै सीआईबीमा उजुरी

    अनलाइन नेपाल
  • मंगलबार, ११ मंसिर २०८१
  • 927
    SHARES

    काठमाडौं । नेकपा एमालेका समानुपातिक सांसद तथा प्रभु मेनेजमेन्ट प्रालिका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचन र उनकी छोरी शिक्षा भट्टचनविरुद्ध कम्पनीमा आर्थिक अपचलन गरेर आपराधिक विश्वासघात गरेको भन्दै गृह मन्त्रालयदेखि केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)मा उजुरी परेको छ ।

    कम्पनीमा कार्यरत कर्मचारीहरु हेमकुमार महाजु र श्रुतिका (तामाङ) लामाले भट्टचनविरुद्ध प्रहरीले जाहेरी लिन नमानेपछि गत असोज ११ गते हुलाकमार्फत गृहमन्त्रालय र सीआईबीमा आपराधिक विश्वासघातमा कारबाहीको माग गरी उजुरी पठाएका हुन् ।



    त्यसअघि नै भट्टचनले देशभरका विभिन्न सहकारीबाट रेमिट्यान्सले भुक्तानी दिएको ९८ करोड रुपैयाँ हिनामिना गरेको भन्दै प्रभु मेनेजमेन्टकी अध्यक्ष कुसुम लामाले पनि राष्ट्र बैंकदेखि सिआईबी हुँदै प्रहरीका विभिन्न यूनिटमा भट्टचनविरुद्ध उजुरी दिइसकेकी थिइन् ।



    कर्मचारीहरुले हुलाकमार्फत हालेको उजुरी सीआईबी पुगिसकेको भएपनि अहिलेसम्म अनुसन्धान नगरी रोकेर राखिएको छ । भट्टचन सत्तारुढ दल नेकपा एमालेका सांसद भएका कारण उनीमाथि अनुसन्धान गर्न प्रहरीले आनाकानी गरेको स्रोत बताउँछ ।

    सीआईबीका प्रवक्ता एसपी होमिन्द्र बोगटीले भने भट्टचन र उनकी छोरीविरुद्ध आएका जाहेरीलाई केलाएर अध्ययन भइरहेको अनलाइन नेपालसँग बताएका छन् ।

    उनले भट्टचन पक्षबाट पनि अदालतबाट स्टे अर्डर आएको हुँदा उजुरी अध्ययन कै क्रममा रहेको थप बताए ।

    भट्टचनले आफूहरुको नाममा कम्पनीबाट पेस्की निकाल्न लगाई सेयर किनाएर करोडौंको ऋणभार बोकाई आर्थिक अपचलन गरी कम्पनी छाडेर भागेको भन्दै लामा र महाजुले उजुरी हालेका हुन् ।

    भट्टचनकै कारण सहकारीहरुबाट लिएको धरौटी वापतको रकम र विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग लिएको कर्जा रकम समेत फिर्ता गर्न नसक्ने अवस्था सिर्जना भएको उनीहरुको भनाई छ ।

    यसरी करोडौंको ऋणभार आफूहरुलाई बोकाएका भट्टचनलाई भेट्न जाँदा भेट समेत नदिने र कम्पनीबाट लिएको रकमको कुनै जिम्मेवारी पनि नलिने भन्दै आर्थिक भारमा पारेर आपाराधिक विश्वासघात गरी मर्कामा पारेको ती कर्मचारीहरुको गुनासो छ ।

    प्रभु मेनेजमेन्टले विभिन्न सहकारीहरुलाई एजेन्ट बनाई भट्टचन आवद्ध प्रभु मनी ट्रान्सफरमार्फत विदेशबाट आएको विप्रेषण (रेमिट्यान्स) नेपालमा भुक्तानी गराउँदै आएको छ । यसै क्रममा भट्टचन ग्रुपबाट अधिकतम सेयरसहित सञ्चालित् प्रभु मेनेजमेन्टले झण्डै सात हजार सहकारीहरुलाई यसका एजेन्ट बनाई प्रभु मनी ट्रान्सफरमार्फत देश बाहिरबाट भित्रिएको रकम सहकारीहरुमार्फत भुक्तानी गराउँदै आइरहेको थियो ।

    भट्टचनले विदेशस्थित प्रभु मनी ट्रान्सफरमार्फत नेपाल पठाएको पैसा हुण्डी गरी विदेशमै बुझ्ने र यता नेपालमा भने विभिन्न सहकारीमार्फत भुक्तानी गराउँदै आएका थिए । ती सहकारीहरुले प्रभु मेनेजमेन्ट प्रालिमार्फत पाउनुपर्ने ९८ करोड रुपैयाँ नपाएपछि भट्टचनले नै उक्त रकम अपचलन गरेको लामासहितका कर्मचारीहरुको दावी छ ।

    सहकारीहरुले पाउनुपर्ने रकम भुक्तानी नभएको भन्दै प्रभु मेनेजमेन्टलाई पत्राचार गरिरहेका छन् । यता, भट्टचन भने आफूले कुनै दायित्व नबोकेको भन्दै पन्छिन खोजिरहेका छन् ।

    प्रभु मेनेजमेन्टको तर्फबाट हेम महाजुले उक्त रकम भट्टचनले अपचलन गरेकाले उनले फिर्ता दिएपछि मात्रै भुक्तानी दिन सक्ने जवाफ सहकारीहरुलाई दिंदै आएका छन् । तर, भट्टचनलाई नै ताकेता गर्न कर्मचारीहरुले सहकारीहरुलाई आग्रह गर्दै आएका छन् ।

    सीआईबीमा परेको उजुरीमा भनिएको छ–‘भट्टचनले कम्पनीबाट लिएको रकमको कुनै जिम्मेवारी नलिइ हामी कर्मचारीहरूलाई नै जिम्मेवारी हुने भनी मौखिक जानकारी गराई हामीहरू सामान्य तलबमा काम गर्ने कर्मचारीहरूलाइ आर्थिक भारमा पारेर आपराधिक विश्वासघात गरी मर्कामा पारेका छन् ।

    यसैक्रममा हामीहरूका नाम बैंकहरूले कालोसूचीमा निकाल्ने तथा बिभिन्न सहकारीहरूका मानिसहरू आइ कालोमोसो लगाउने, समाउने, पिट्ने र थुन्ने भनेर धम्की दिएर बारम्बार प्रताडना दिने र दुर्वव्यहार गरिरहेका छन् । यसबाट हामीहरूको आफ्नो निजी र पारिवारिक जीवनमा ठूलो असर परी पटकपटक मानसिक अशान्तिसमेत भइ अस्पताल जानु परेको छ ।’

    उनीहरुले प्रभु मेनेजमेन्टमा भएको क्षती र आपराधिक कार्य रोक्न माग गर्र्दै आफ्नो सेयर समेत फिर्ता गराउन भट्टचनसँग माग गरेका छन् ।

    भट्टचनका बाबु छोरीविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ वमोजिमको कसुर गरेको भन्दै मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (३) (ग), ऐ. दफा २५१ (१), (२), (३), ऐ. दफा २५२ (१), (२), तथा ऐ. दफा २५३ तथा नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ र दफा ९६ को कसुरमा ऐ. दफा ९६ नं. वमोजिम हदैसम्मको कारवाहीको माग गर्दै महाजु र लामाले सीआईबीमा उजुरी दिएका छन् ।

    त्यसो त प्रभु मेनेजमेन्ट प्रालिले गत साउन २३ गते नै नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागलाई प्रभु मनि ट्रान्सफरमाथि आवश्यक कारबाही गरिपाउँ भन्दै गभर्नरको कार्यालयलाई बोधार्थ दिएर उजुरी समेत दिएको थियो । सो उजुरीको पनि सुनुवाइ भएको छैन ।

    यस्तो छ भट्टचन समूहको प्रभु ग्रुपसँग कनेक्सन
    भट्टचनले वि.सं. २०६९ सालमा प्रभु ग्रुपबाट सञ्चालित हुनेगरी प्रभु मेनेजमेन्ट प्रालिको स्थापना गरेका थिए । यसको मुख्य उद्देश्य विभिन्न सहकारीहरुलाई एजेन्ट बनाई प्रभु मनी ट्रान्सफरमार्फत विदेशबाट आएको विप्रेषण (रेमिट्यान्स) नेपालमा भुक्तानी गराउनु थियो ।

    देवीप्रकाश भट्टचन (भट्टचन ग्रुप) बाट अधिकतम सेयर लिई सञ्चालन भएको यस कम्पनीले झण्डै सात हजार सहकारीहरुलाई यसका एजेन्ट बनाई प्रभु मनी ट्रान्सफर मार्फत देश बाहिरबाट भित्रिएको रकम यीनै सहकारीमार्फत भुक्तानी गराउँदै आइरहेको थियो ।

    विदेशवाट आएको रकम विभिन्न सहकारीहरुबाट भुक्तानी गर्नको लागि प्रभु मेनेजमेन्टमा उक्त सहकारीहरुबाट केही रकम धरौटीवापत समेत राख्ने गरेकाले कम्पनीको खातामा ठुलो रकम जम्मा भएको थियो । त्यसपछि सो रकमलाई प्रयोग गरेर देवीप्रकाश भट्टचनसमेतले प्रभु मनी ट्रान्सफरबाट प्रभु ग्रुपको परिकल्पना गरी तत्कालीन किष्ट बैंक र अलायन्स इन्स्योरेन्सको स्थापना गरे ।

    त्यसैगरी सो रकम प्रमोटर शेयर खरिद गर्न प्रयोग गरी भट्टचनको नेतृत्वमा प्रभु बैंक र प्रभु इन्स्योरेन्सको स्थापना गरियो । उक्त कम्पनीहरु स्थापनापश्चात भट्टचन नै प्रभु ग्रुप भन्ने पर्यायवाची हुन गई विभिन्न वैंकहरुले उनको नाम र व्यक्तिगत ग्यारेन्टीमा विनाधितो उक्त कम्पनीमा थप कर्जा लगानी गर्न थाले । जसले गर्दा प्रभु टेक्नोलोजी, प्रभु टिभी, प्रभु हेलिकोप्टर, नेपाल सिपिङ, लाजिम्पाट अपार्टमेन्ट र जानकी मेडिकल जस्ता थुप्रै कम्पनीहरु स्थापना भए ।

    यसैक्रममा देवीप्रकाश भट्टचन प्रभु बैंकका अध्यक्ष भए । उनीबाटै प्रवद्र्धित कम्पनी प्रभु टेक्नोलोजीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमतिपत्रसमेत लिन सफल भयो । जसमा देवीप्रकाश भट्टचन र प्रभु म्यानेजमेन्टको सेयर रहेको थियो । त्यस समयमा भट्टचन प्रभु बैंक तथा प्रभु टेक्नोलोजीका अध्यक्ष समेत थिए । प्रभु टेक्नोलोजी घाटामा सञ्चालन भैरहेको कारण देखाई उनले आफ्नो छोरी शिक्षा भट्टचनको नाम प्रभु मेनेजमेन्टबाट हटाए प्रभु बैंकलाई बेच्न सकिने भन्दै छोरीको नाममा रहेको सेयर कर्मचारीहरुको नाममा नामसारी गराए ।

    उनले प्रभु बैंकको अध्यक्ष आफु रहेको तथा आफ्नै छोरीको अधिकतम शेयरहोल्डर भएको प्रभु मेनेजमेन्टमा प्रभु टेक्नोलोजी रहिरहँदा कानूनी झण्झट आउने देखे । भट्टचनले प्रभु बैंकलाई प्रभु टेक्नोलोजी खरिद गराउँदा नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार नमिल्ने कारण देखाई प्रभु मेनेजमेन्टबाट भट्टचन ग्रुपको सेयरहरू सोही कम्पनीमा कार्यरत कर्मचारी गणेश घिमिरे, श्रुतीका तामाङ र हेम कुमार महाजुको नाममा खरिद गर्न लगाए ।

    जवरजस्ती प्रभु मनी ट्रान्सफरका अध्यक्ष भट्टचनको निर्देशनमा सोही कम्पनीका सहायक प्रवन्ध निर्देशक रामेश्वर सापकोटाले प्रभु मनी ट्रान्सफरबाट छ करोड पेश्की हाल्न लगाई कर्मचारीको नाममा सेयर खरिद गराएका थिए ।

    भविष्यमा कुनैपनि आर्थिक जिम्मेवारी नरहने र नामसारी प्रक्रिया नेपाल राष्ट्र बैंकबाट प्रभु टेक्नोलोजीखरिद प्रक्रियामा प्रभु बैंकलाई सहजीकरण गर्नमात्र हो भनेर कर्मचारीहरुलाई ललाई फकाई गरी भट्टचनले २०७७ असार २४ गते छोरी शिक्षा भट्टचनको शेयर कर्मचारीको नाममा नामसारी गराए ।

    जब शिक्षा भट्टचनको शेयर विक्री प्रक्रिया सकियो त्यसपछि प्रभु बैंकले समेत डीडीए प्रक्रिया पुरा नगरी बन्द गरिरहेको छ ।

    नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्रदत्त कम्पनी प्रभु मनि ट्रान्सफर स्थापना गरेका भट्टचन आप्mनो आर्थिक अवस्था विग्रदै गएपछि आफ्नै कर्मचारीहरुलाई ऋणको भार बोकाएर कम्पनीबाट बाहिरिए । र, अहिले कर्मचारीहरु न्यायको खोजीमा प्रहरीकहाँ पुगेका हुन् ।

    नेपाल राष्ट्र बैंकको कुनै ऐन, नियम तथा विनियम र निर्देशिकामा सुपर एजेन्ट बनाउने र सो सुपर एजेन्टमार्फत धरौटी संकलन गरी कारोवार गर्न पाइने व्यवस्था छैन । तर भट्टचनले हजारौँ सहकारीबाट धरौटी रकम उठाए ।

    यसरी उठाएको धरौटी रकम आफूखुसी प्रयोग गर्दा आर्थिक अवस्था डामाडोल बनेको कर्मचारीहरुको भनाई छ ।

    के भन्छन् भट्टचन ?
    कर्मचारीहरुको नाममा पेश्की निकालेर सेयर खरिद गराएको, सहकारीको रकम हिनामिना गरेको र सीआईबीमा परेको उजुरीलगायतका विषयमा सांसद देवीप्रकाश भट्टचनसँग अनलाइन नेपालले सम्पर्क गर्दा उनले सीआईबीमा परेको उजुरीबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

    उनले थप भने–‘मैले कम्पनी छाड्ने बेलामा आर्थिक कारोबार नै भएको थिएन । मैले २०७१ सालमा नै कम्पनी छाडेको हुँ । सेयर किनबेच जवर्जस्ती भएको मलाई थाहा छैन । उहाँहरुले कम्पनी किनेर चलाइरहनु भएको होला । अहिले कम्पनीमा को–को हुनुहुन्छ भन्ने पनि थाहा छैन । कुसुम लामाको विरुद्धमा त मैले पनि उजुरी हालेको छु । त्यसबारे सुनुवाई हुँदै होला ।’

    उजुरी परेपछि तपाईले त अदालतबाट स्टे अर्डर पनि लिनु भएको रहेछ नि भन्ने अनलाइन नेपालको प्रश्नमा उनले नलिएको बताए ।

    भट्टचनले २०७१ सालमा नै कम्पनी छाडेको वताए पनि कम्पनी रजिष्ट्रार कार्यालयको २०७४ जेठ ११ गतेको अभिलेख अनुसार प्रभु मेनेजमेन्टमा सेयरधनीको रुपमा भट्टचनकी छोरी शिक्षा भट्टचनको नाममा ६ लाख ४८ हजार कित्ता सेयर रहेको देखिन्छ । त्यसअघि उक्त सेयर उनका भतिजा मिजास भट्टचनको नाममा रहेको कम्पनी रजिष्ट्रार कार्यालयको रेकर्डमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार