धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेशकुमार सिंहमाथि धनगढीमा भएको कुटपिट घटनामा संलग्न एकजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार बझाङको बुङ्गल नगरपालिका–२ निवासी २८ वर्षीय गोविन्द धामीलाई पक्राउ गरिएको हो ।
घटनामा संलग्न रहेको आरोप लागेका धनगढी उपमहानगरपालिका–४ का २७ वर्षीय भरत बोहरा लगायत अन्य व्यक्ति भने फरार रहेका छन् ।
प्रहरीका अनुसार सोमबार राति करिब १ः३० बजे धनगढी उपमहानगरपालिका–४ स्थित रिद्धिसिद्धि पार्टी प्यालेस नजिक सामान्य विवाद चर्किएपछि रास्वपा नेता सिंहमाथि कुटपिट भएको थियो ।
कुटपिटबाट सिंहको बायाँ आँखाको भौँमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। धनगढीस्थित नवजीवन अस्पताल मा उपचारपछि उनी डिस्चार्ज भइसकेका छन् । रिद्धिसिद्धि पार्टी प्यालेसमा रास्वपा सुदूरपश्चिमको अधिवेशन चलिरहेको छ ।