काठमाडौं । एसियाली खेलकुद छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले चीनलाई जितका लागि ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टी–२० अन्तर्राष्ट्रियमा नेपालले बनाएको यो दोस्रो ठूलो योगफल हो।
सिंगापुर नेशनल क्रिकेट स्टेडियममा चीनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ३१३ रन बनाएको हो।
यसअघि सन् २०२३ को हाङझाओ एसियाली खेलकुदमा नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो, जुन नेपालको हालसम्मकै उच्च स्कोर हो।
नेपालको इनिङमा कुशल भुर्तेल र कुशल मल्लबीच दोस्रो विकेटका लागि १७५ रनको विस्फोटक साझेदारी भएको थियो । यो साझेदारीले सन् २०१९ मा सिंगापुरविरुद्ध पारस खड्का र आरिफ शेखले बनाएको १४५ रनको कीर्तिमानलाई तोडेको हो। समग्रमा यो नेपालका लागि कुनै पनि विकेटका लागि भएको दोस्रो ठूलो साझेदारी बनेको छ।
यसअघि २०२३ को हाङझाओ एसियाली खेलकुदमा रोहित पौडेल र कुशल मल्लले मंगोलियाविरुद्ध तेस्रो विकेटका लागि १९३ रनको साझेदारी गरेका थिए।
ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ४३ बलमा ५ चौका र १६ छक्कासहित १२९ रन बनाए। उनले ३५ बलमै शतक पूरा गरेका थिए। यससँगै उनी टी–२० आईमा नेपालका लागि सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका छन्। भुर्तेलले हालसम्म ७७ खेलमा ९९ छक्का प्रहार गरेका छन्, जसले दीपेन्द्र सिंह ऐरीको ८९ छक्काको कीर्तिमानलाई उछिनेको हो।
त्यस्तै, कप्तान रोहित पौडेलले १९ बलमा ६९ रन तथा कुशल मल्लले ४७ बलमा ९५ रनको अविजित इनिङ खेले। नेपाली ब्याटिङले चीनविरुद्ध पूर्ण रूपमा दबाब कायम गर्दै विशाल योगफल खडा गरेको छ ।