काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटलाई मिश्रित, अत्यधिक ठूलो र वितरणमुखी भएको टिप्पणी गरेका छन् ।
शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गरेपछि प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले बजेटको आकार नै अवास्तविक रहेको दाबी गरे ।
उनले राष्ट्रिय योजना आयोगले करिब २० खर्ब रुपैयाँको सिलिङ निर्धारण गरे पनि सरकारले त्यसमा झन्डै डेढ खर्ब रुपैयाँ थपेर अस्वाभाविक रूपमा बजेटको आकार बढाएको बताए ।
'मिश्रित खालको बजेट छ । आकारमा धेरै ठूलो भयो, वास्तविक देखिएन,' पुनले भने, 'विगतमा १८–१९ खर्बको बजेट ल्याइन्थ्यो, तर वास्तविक मूल्यांकन गर्दा १६–१७ खर्बमा सीमित हुन्थ्यो । अहिले पनि फुलेको बजेट ल्याइएको छ ।'
सांसद पुनले सरकारले विभिन्न क्षेत्रमा छुट, अनुदान तथा सामाजिक सुरक्षा विस्तारका कार्यक्रम ल्याएको उल्लेख गर्दै यस्ता कार्यक्रम लोकप्रिय देखिए पनि नेपालको वर्तमान अर्थतन्त्रले दीर्घकालीन रूपमा धान्न नसक्ने टिप्पणी गरे ।
उनले विगतमा वामपन्थी अर्थमन्त्रीहरूमाथि वितरणमुखी बजेट ल्याएको आरोप लाग्ने गरेको स्मरण गर्दै अहिलेका अर्थमन्त्री स्वयंले अघिल्ला बजेटलाई “कनिका छरेजस्तो” भनेर आलोचना गर्ने गरेको बताए । तर अहिले प्रस्तुत गरिएको बजेट पनि उही शैलीतर्फ गएको उनको आरोप थियो ।