काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति प्रधानमन्त्री र पार्टी नेतृत्व दुवै उत्साहित रहेको बताएका छन् ।
शुक्रबार बजेट भाषणपछि संसद् भवन बाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले बजेटलाई महत्त्वाकाङ्क्षी र सन्तुलित दस्तावेजको रूपमा व्याख्या गरे ।
उनले सांसदका रूपमा आफू पनि बजेटप्रति निकै उत्साहित रहेको उल्लेख गर्दै भने, 'एकजना जनप्रतिनिधि र प्रतिनिधिसभा सदस्यका रूपमा हामी एकदमै उत्साहित छौं ।'
प्रवक्ता झाले प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछाने समेत बजेटप्रति सकारात्मक रहेको बताए ।
उनले भने, 'सम्माननीय प्रधानमन्त्रीज्यू र पार्टी सभापति पनि उत्साहित हुनुहुन्छ ।'
उनका अनुसार सरकारले प्रस्तुत गरेको बजेटले विकास र समावेशी प्राथमिकतालाई केन्द्रमा राखेको छ ।
विशेषगरी मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशलाई उच्च प्राथमिकतामा राखिएको दाबी गर्दै उनले क्षेत्रीय सन्तुलन कायम गर्ने प्रयास बजेटमा देखिएको टिप्पणी गरे ।